काठमाडौं । सप्तरंगको दोस्रो संकरणको पहिलो रंगको रूपमा महानायक राजेश हमाल रहने भएका छन् । ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरंगले सातै प्रदेशमा सांगीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्षका साथ पहिलो संकरण सफलतापूर्वक सम्पन्न गरेपछि दोस्रो संकरणका लागि कलाकार फाइनल गर्न सुरु भएको हो ।
ग्रीष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरे र राजेश हमालबीच ‘सप्तरंग २’ का लागि लिखित सम्झौता भइसकेको बताइएको छ । पहिलो संकरणमा प्रदेश १ को दमक, प्रदेश २ को जनकपुर, प्रदेश ३ को नारायणघाट, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीमा कार्यक्रम आयोजना गरिएको थियो ।
जसमा रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दीप क्षेत्री, मोडल अञ्जली अधिकारी र खेलाडी दीपक विष्ट समावेश थिए । सांगीतिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकीय स्थानको प्रवद्र्धन र सम्भावनाको खोजी गरिने लक्ष रहेको र व्यावसायिकभन्दा पनि सद्भाव जोडिएको कार्यक्रम भएको आयोजकले बताएको छ ।




















