नेपाल चलचित्र कलाकार संघको नेतृत्वमा रवीन्द्र

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको शनिबार सम्पन्न १७औं साधारणसभाबाट अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्षसमेत रहेका खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत खस्यो भने लामिछानेले १६१ मतमात्र पाइन् । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत ल्याए । अन्य दुई उम्मेदवार मनोज केसी (१४२) र विनोद भट्टराई (९६) मतले पछि परे । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा (१८७) निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत प¥यो ।

यस्तै सहकोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् । पदाधिकारीतर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकारबाहेक सबै खड्का प्यानलका विजयी भएका छन् ।

त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शीतल केसीले सर्वाधिक मत ल्याए । अन्य ९ सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए । 

कलाकारलाई ओत लाउने ठाउँ छैनः रवीन्द्र 

निर्वाचित अध्यक्ष रविन्द्र खड्काले पेशागत चलचित्र कलाकारहरूको संगठनमध्ये नेपाल चलचित्र कलाकार संघ जेठो संस्था रहेको तर जेठो संस्थाकै आफ्नै भवन नरहेकाले धेरैको गुनासो रहेको उनी बताउँछन् । 

रविन्द्रले संस्थाको भवन निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘आज सम्म कुनै पनि कलाकारलाई ओत लाउने ठाउँनै छैन । अनि किन माग्ने भोट ? त्यसैले मैले पहिलो एजेण्डा नै भवन निर्माण बनाएको हुँ’, रविन्द्रले भने, ‘यस्तै अर्को कुरा कलाकारहरू केही उमेर ढल्कदै गएपछि चलचित्र पाउन छाड्छन्, बिरामी हुन्छन् र चन्दा माग्दै उपहार गर्नुपर्ने स्थिति छ । चलचित्रमा लामो समय योगदान दिएका कलाकारलाई संगठनले नै उपहार गर्न सकोस् भन्ने मेरो मुख्य कुरा हो ।’

चुनाव हार्नु जीवन हार्नु होइनः सरिता

रविन्द्रकै प्रतिद्वन्द्वी सरिता लामिछानेले चुनावमा हार्नु जीवन हार्नु नभएको बताइन् । उनले रविन्द्रलाई शुभकामना दिँदै कलाकारहरूको हकहितमा काम गर्न सुझाइन् । ‘संघको अध्यक्षमा गैह्रकलाकार नआएकोमा म निकै खुशी छु । रविन्द्र दाइको जित हामी सबै कलाकारको जित हो’, सरिताले भनिन् । ‘चुनाव जीवन होइन एउटा प्रक्रियामात्र हो । रविन्द्र दाइको ठाउँमा एउटा गैह्रकलाकार जितेको भए मलाई पक्कै दुःख लाग्थ्यो । दाइ जित्नुभएको छ म एकदमै खुशी छु । रविन्द्र दाइले गर्नुभएका प्रतिबद्धता चाँडै पूरा हुन् । संघको भवन चाँडै बनोस् । पशुपतिको आर्यघाटमा घाम र पानीमा पार्थीव शरीर लडाउनु नपरोस् ।’ सरिताले आफूलाई भोट गर्ने सबै कलाकारलाई धन्यवाद दिइन् । उनी अघिल्लो कार्यसमितिकी महासचिव हुन् ।