अमेरिका र बेलायतबीच ‘अर्थपूर्ण सम्झौता’ हुने

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको युरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ व्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टरिजा मेसँग मंगलबार भएको भेटमा बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै बिदा लिने मनस्थितिमा पुगेकी बेलायती प्रधानमन्त्री मेसँग उच्च व्यवसायी तथा मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, ‘मलाई लाग्छ अमेरिका र बेलायतबीच निकै अर्थपूर्ण व्यापार सम्झौता हुनु जरुरी छ, जुन निकै स्वच्छ तथा स्पष्ट सम्झौता हुनेछ ।’ उनले थपे, ‘हामीले सम्झौता गरेर नै छाड्नेछौँ ।’ बेलायतमा प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गराउने पहललाई संसद्ले पटक–पटक अस्वीकार गरेपछि मेले प्रधानमन्त्रीबाट बिदा लिने मोडमा रहेको उनका निकट रहेका सहयोगीहरूले पटक–पटक दोहो¥याउँदै आएको  समय अमेरिकी राष्ट्रपतिले भने, ‘प्रधानमन्त्री मेले असाधारण कार्य’ गरिरहेको ठट्यौली प्रतिक्रिया दिएका हुन् । 

अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणका क्रममा कतिपय समूहहरूले उनको भ्रमणप्रति नै विरोध जनाइरहेका पनि छन् । लण्डनका मेयरले नै ट्रम्पको बेलायत भ्रमणको विरोध जनाएपछि ट्रम्पको भ्रमण विवादमा परेको थियो । यसैबीच, मध्यपूर्वको शान्तिका लागि ट्रम्पका सल्लाहाकार जरेद कुस्नरले मंगलबार ब्रसेल्समा युरोपेली नेता जाँ क्लाउड यंकरलगायतका नेताहरूसँग भेट गर्ने बताइएको छ । लन्डनमा रहेका कुस्नर अमेरिकी शान्ति योजनासहित युरोप जाने र यस विषयमा त्यहाँका नेताहरूसँग भेट्ने र मध्यपूर्वको शान्ति तथा भूराजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।