भारतीय प्रधानमन्त्री मोदीलाई मार्ने धम्की

नयाँदिल्ली  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजस्थान भाजापाका अध्यक्ष मदन लाल सैनीलाई लेखिएको पत्रमा प्रधानमन्त्री मोदीलाई मार्ने धम्की दिइएको छ । 

सैनीले सो पत्रबारे अनुसन्धान गर्न अशोकनगर प्रहरीमा पत्र पठाएका थिए । तर, प्रहरीले भने पत्रको छानविन गरेको र त्यस्तो अप्रिय कुनै सम्भावना नरहेको बताएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भाजपा प्रदेश अध्यक्ष मदन लाल सैनीले प्रधानमन्त्री मोदीको शपथ ग्रहणभन्दा एक दिन पहिला पत्र आएको बताए । उनले पत्रमा मोदीलाई मार्ने धम्की दिइएको बताए । उनले पत्र हस्तलिखित रहेको बताए । जसमा राजेश टांक छोटु र एक अन्य व्यक्तिको नाम लेखिएको थियो । सैनी प्रहरीका उच्च अधिकारीहरूलाई यो विषयमा जानकारी दिएका थिए । 

प्रहरीले सो पत्रलाई इन्टेलिजेन्स ब्युरोलाई दिएको थियो । जयपुर उपयुक्त योगेश दाधिचका अनुसार प्रधानमन्त्री मोदीले शपथ लिनुभन्दा एक दिन पहिला प्राप्त पत्रलाई गम्भीरतापूर्वक लिएर केही मानिसहरूसँग सोधपुछ गरिएको बताए । उनले छानबिनमा त्यस्तो कुनै गम्भीर जोखिम नदेखिएको उल्लेख गर्दै कसैले मजाकमा यस्तो गरेको हुनसक्ने बताए । उनले सो पत्र आइबीलाई दिएका थिए । 

यसअघि अक्टुबर २०१८ मा दिल्ली पुलिस कमिस्नरको इमेल आइडीमा प्रधानमन्त्री मोदीलाई धम्की दिएर एक सन्देश पठाइएको थियो । भिमा कोरेगाउँ हिंसाको जाँचका क्रममा पनि प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्र भएको खुलासा भएको थियो । अनुसन्धानका क्रममा वामपन्थीसँग सम्बन्धित केही मानिसहरूबीचका पत्र फेला परेका थिए । जसमा पूर्वप्रधानमन्त्री राजीव गान्धीकैजस्तो आक्रमण मोदीमाथि गर्ने लेखिएको थियो । त्यसपछि केही चर्चित व्यक्तिहरू पक्राउ परेका थिए । जसको विरोधसमेत भएको थियो । त्यस्तै, जुन २०१८ मा गाजियावादका एक ज्यक्तिले फेसबुकमा प्रधानमन्त्री मोदीलाई गोली हान्ने धम्की दिएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो ।