काठमाडौं । देवचुली फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मिस्टर नेपाली’ को औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन पनि सोमबमरबाटै सुरु भएको छ । नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देवनारायण भुसालको लेखन तथा निर्देशन रहनेछ ।
यो चलचित्रमा नायक भूवन केसी र नायिका रिमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । चलचित्रमा नायक केसी दोहोरो चरित्रमा देखिँदै छन् । उनका अनुसार, चलचित्रमा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् । यस्तै, चलचित्रमा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रूपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दै छन् ।
चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुसाल र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।
चलचित्रमा लामो समयपछि देखिन लागेका नायक भूवन केसीले भने, ‘मलाई सधंै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक चलचित्रमा म खलपात्रको भूमिकामा देखिँदै छु । यसैले नै काम गर्न लागेको हुँ ।’
नायिका रिमा विश्वकर्माले नायक भूवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुसी लागेको सुनाइन् ।
निर्देशक भुसालले भने,‘चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ । यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र हो । तर, यसले विशेषगरी विदेशमा रहेका नेपालीहरूमा नेपालप्रतिको मायालाई झल्काउनेछ ।’ चलचित्रका प्रोडक्सन डिजाइनर गणेश सापकोटा हुन् ।




















