नयाँदिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले राजधानी नयाँदिल्लीमा चल्ने सार्वजनिक बसमा महिलालाई निःशुल्क यात्रा गर्न दिने घोषणा गरेका छन् । डिटिसी र क्लस्टर बस तथा मेट्रो रेलमा महिलालाई निःशुल्क यात्रा गर्न दिने घोषणा मुख्यमन्त्री केजरीवालले गरेका हुन् ।
मुख्यमन्त्री केजरीवालले यो नियमलाई दुईदेखि तीन महिनाभित्र लागू गर्ने पनि जनाएका छन् । उनले महिलाहरू टिकट किनेर नै यात्रा गर्न चाहन्छन् भने उनीहरूले त्यो पनि गर्न सक्ने तर यसका लागि लाग्ने खर्च दिल्ली सरकारले व्यहोर्नेसमेत बताएका छन् । यसबारे दिल्ली मेट्रोसँग कुराकानी भइसकेको समेत उनले जनाएका छन् । दिल्ली सरकारका अनुसार यो वर्ष सात सयदेखि आठसय करोडसम्म खर्च लाग्न सक्छ । यो खर्च पनि दिल्ली सरकारले नै व्यहोर्नेछ । दिल्लीमा सरकारी बसमा ४० लाख मानिसले यात्रा गर्ने र त्यसमा ३० प्रतिशत महिला रहने अनुमान गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री केजरिवालले नयाँदिल्लीमा एक जनसभालाई सम्बोधन गर्दै उनको सरकारले बिजुलीको बिलमा पनि निश्चित रुकम घटाउने तयारी गरेको बताएका छन् । उनले त्यसका लागि विद्युत् नियामकहरूसँग वार्ता भइरहेको बताएका छन् ।
उनले दिल्ली सरकारसँग सहमति नलिएरै गत वर्ष विद्युत् नियामकले शुल्क बढाएको बताए । उनले आगामी महिना विद्युत्को नयाँ महसुल तय गरिनेसमेत जानकारी दिए । उनले बढेको शुल्क घटाउने तयारी भइरहेको बताए । दिल्लीमा घरेलु प्रयोजनका लागि २ किलोवाटसम्मले २० भारतीय रुपैयाँ शुल्क तिर्नुपर्छ । यसलाई बढाएर १२५ रुपैयाँ बनाइएको छ । दिल्ली सरकारले यस्ता उपभोक्ताहरूलाई अनुदानसमेत दिने गरेको छ ।
हालै भएको लोकसभा निर्वाचनमा आम आदमी पार्टीले नौ राज्य र केन्द्र शासित गरी ४० भन्दा धेरै सिटमा चुनाव लडेको थियो । तर, उसले एक सिटमा मात्र जित हात पारेको थियो । लोकसभा निर्वाचनमा झट्का लागे पनि आम आदमी पार्टीले आगामी दुई वर्षपछि हुने दिल्ली विधानसभा निर्वाचनका लागि तयारी सुरु गरिसकेको छ । गएको विधानसभा निर्वाचनमा दिल्लीका ७० सिटमध्ये आम आदमी पार्टीले ६७ सिटमा जित हात पारेको थियो ।
भ्रष्टाचार विरोधी अन्ना हजारेको आन्दोलनमा सक्रिय रहेका केजरीवालले पार्टी बनाएर चुनाव लडेका थिए । पहिलोपटक दिल्लीमा सबैभन्दा ठूलो दल बनेर सरकार बनाएका केजरीवालले एक वर्षभित्रै विधानसभा भंग गराएर फेरि चुनाव गराएका थिए । सो चुनावमा उनको दलले ७० सिटमध्ये ६७ सिटमा जित हात पारेको थियो । तर, पछिल्ला दिनहरूमा उनका पार्टीका केही नेताहरूले दल छोडेका छन् ।



















