काठमाडौं । सरकारले चार वर्षअघि प्लास्टिक झोला निषेध सुरु गरेको थियो । निषेध लागू भएको १२ दिनमै २०७२ वैशाखको विनाशकारी भूकम्पपछि निषेध ओझेलमा प¥यो । काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोरमा प्लास्टिक झोलाको हिसा ठूलो छ । उपत्यकालाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले ४० माइक्रोन मोटाइसम्मका प्लास्टिकका झोलाहरूको आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । कार्यान्वयन पक्ष फितलो हँुदा प्लास्टिक झोला निषेध हुन सकेको देखिँदैन । फोहोरको ठूलो हिस्सा प्लास्टिकको झोला रहेकाले काठमाडौं उपत्यकालगायत अन्य सहरहरू पनि प्रदूषणको उच्च जोखिममा रहेको सांसद डा. विमला राई पौड्यालको भनाइ छ । उनले संसारका धेरै देशहरूले यस्ता झोलाहरूको प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि नेपालमा कार्यान्वयन हुन नसकेको बताइन् । प्लास्टिक प्रयोग घटाउन सबैको सहयोग हुनुपर्ने उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा करिब १० लाख झोला एकपटक प्रयोग गरेर फालिने गरेको छ । प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न, किनमेलमा निस्किँदा सामान बोक्न वैकल्पिक झोला बोकेर जान, खुलारूपमा बेचिने चिनी, तरकारीलगायत सामान खरिदबिक्री गर्दा कपडा वा अल्लोका झोला प्रयोग गर्नसमेत उपभोक्ता र व्यापारीलाई सरकारको आग्रह छ । प्लास्टिकका झोलाको कपडाको झोला प्रयोग गर्न आहृवान गरिए पनि सफल हुन नसकेको वातावरणविद् अन्जु शाह सिंहको भनाइ छ । नेपालमा करिब चार सय प्लास्टिक उद्योग छन् । ती उद्योगले विकल्प पाएका छन् । शाह भन्छिन्, ‘नीति, नियम, ऐनहरू प्रशस्तै बनेका छन् तर कार्यान्वयनमा आउन नसक्दा र कार्यान्वयन गर्ने निकाय कडा ढंगले प्रस्तुत नहुँदा वातावरण प्रदूषित बन्न पुगेको छ ।’
प्लास्टिकको प्रयोगमा रोक नै लगाउन त सकिँदैन तर त्यसको विकल्प भने खोज्न सकिने सरोकारवालाहरूको भनाइ छ । एउटा प्लास्टिकको झोला कुहिनको लागि पाँच सय वर्षसम्म लाग्ने भएकोले यसको प्रदूषण पनि दीर्घकालीन हुन्छ ।




















