नेकपा सचिवालय बैठक आज

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पटकपटक स्थगित सचिवालय बैठक मंगलबार बस्ने भएको छ । सोमबार बस्ने भनिएको बैठक पार्टीभित्र सरकारको नेतृत्व परिवर्तनबारे नयाँ बहस सिर्जना भएसँगै मंगलबारका लागि सारिएको हो । यसअघि, शनिबार बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो । जेठ २ गतेपछि सचिवालय बैठक बस्न सकेको छैन ।

सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो छलफलपछि मंगलबारका लागि बैठक बोलाइएको हो । सचिवालय स्रोतका अनुसार मंगलबारको बैठकले पोलिटब्युरोका विषयमा निर्णय गर्ने सम्भावना रहेको छ । 

नेकपा सचिवालय सदस्य झलनाथ खनालले मंगलबार बैठक बस्ने जानकारी आएको बताए । पार्टी एकीकरणको लामो समय बितिसक्दासमेत नेकपाले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, विभाग गठनलगायत कामहरू टुंगो लगाउन नसक्दा शीर्ष नेताहरूको आलोचना हुँदै आएको छ । पार्टीको स्थायी कमिटीलाई पनि पछिल्लो समय निष्क्रिय तुल्याइएको छ ।

मंगलबारको बैठकमा सकेसम्म पार्टी एकताका बाँकी सबै काम, नभए पोलिटब्युरो टुंगो लगाउने गरी गृहकार्य भइरहेको नेकपा स्रोतले बतायो । ‘केन्द्रीय सदस्यको कार्यविभाजनभन्दा पहिले पोलिटब्युरो गठन हुन्छ । १÷२ कुराहरूमा समस्या देखिएको छ,’ एक नेताले भने, ‘खासगरी पूर्वमाओवादी भित्रबाट साथीहरूको नाम छनोट गर्न गाह्रोपरेको छ । ठूलो संख्याबाट केही सदस्यहरू छान्नुपर्ने भएकाले समस्या देखिएको हो ।’

प्रधानमन्त्रीसमेत रहेको ओली युरोप भ्रमणमा जानुभन्दा पहिले पोलिटब्युरो गठनको काम टुंगो लाग्ने ती नेताले बताए ।

यता, पूर्वमाओवादी तर्फका एक नेताले पोलिटब्युरोका लागि अध्यक्ष दाहालले गृहकार्य गरिरहेको र आप्mना पक्षबाट दिनुपर्ने नाम केही दिनमै टुंगो लाग्ने बताए । उनले भने, ‘पोलिटब्युरोभन्दा पहिले केन्द्रीय सदस्यहरूको कार्यविभाजन हुन्छ । यही सम्भावना देखिन्छ ।’

एकता प्रक्रियाका सीमित काम मात्र बाँकी रहेको बताउँदै आए पनि पार्टीभित्र भागबण्डा मिल्न नसक्दा एकीकरण प्रक्रिया सकसपूर्ण बनेको हो । सचिवालय सदस्यभित्रै देखिएको ध्रुवीकरणले नेकपाको एकीकरण प्रक्रिया थप जटिल बनेको नेताहरूको बुझाइ छ । 

दुई अध्यक्षबीच गोप्य वार्ता

प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि लगातार अध्यक्षद्वयबीच वार्ता भइरहेको छ । महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत नेताहरूसँग पनि छलफल गरिएको छ । आइतबार माधवकुमार नेपालसँग पनि छलफल भएको थियो । 

प्रधानमन्त्रीका प्रेस संयोजक कुन्दन अर्यालले सोमबार साँझ बालुवाटारमा दुई अध्यक्षबीच पोलिटब्युरो गठनका विषयमा छलफल भएको बताए । दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै अध्यक्षद्वयबीच निरन्तर वार्ता चलिरहेका कतिपयको बुझाइ छ । 

पोलिटब्युरो गठनमा सकस भइरहेको समयमा विभाग गठनमा समेत भागबण्डाको किचलो उत्तिकै बढ्ने संकेत देखिएको छ । खासगरी संगठन विभागको नेतृत्वका लागि केही प्रभावशाली नेताहरूबीच हानाथाप भइरहेको छ । बामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल पछिल्लो समय संगठन विभाग प्रमुख बन्नका लागि पहल गरिरहेका छन् । शीर्ष नेताहरूबीच विभाग गठनका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको स्रोत बताउँछ ।