जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एकजना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका वडा–६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतो छन् । महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
गत वैशाख २३ गते बेलुका ५ बजे महतोले मिथिला नगरपालिका वडा–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भन्ने समीरकुमार साहलाई आफ्नो घर अगाडि फूलको बोट नजिक खेलिरहेको अवस्थामा ललाइफकाइ गर्दै अपहरण गरी आफ्नो घरमा बन्धक बनाई भोलिपल्ट बिहान चमेनिया माय भन्ने देवताका नाममा नर बलिका रूपमा नियतपूर्वक आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी हत्या गरेको जनाइएको छ ।
बालकको हत्यापछि महतोले शवलाई बालकको घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरूवासहितको खेतको झाडीमा फालेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए । बेलाबेलामा बालक समीरलाई झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी बालकलाई फकाइ अपहरण गरी बन्धक बनाएको बताइएको छ ।
मृतकका हजुरबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्खास्त दिएका आधारमा महतोलाई बुधबार उनकै घरमा फेला पारी कानसनबमोजिम पक्राउ गरिएको बताइएको छ । महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गञ्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
Views: 14




















