काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने स्पष्ट पारेका छन् । उनले यदि ओली जी र म तथा पार्टीबीचमा सहमति भयो भने पाँचै बर्ष पनि ओली नै प्रधानमन्त्री बन्न सक्ने बताए । उनले आफूलाई प्रधानमन्त्री हुने हतारो नभएको बताए । देशले गतिलिँदा प्रधानमन्त्री फेरिरहनु उचित नभएको उनले बताए । यस विषयमा पार्टी पंतिमा छलफल चलिरहेको उनले खुलासा गरे ।
उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। बुधबार एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने भन्दै प्रधानमन्त्री ओलीले सहमति नतोड्ने विश्वास दिलाए । उनले भनेका छन्,‘जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो धारणा छ । पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दुख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के–के हुन् भनेर भनिराखेको छु। त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ।’
‘अहिलेसम्म हामीले चाहेको जस्तो विकासलाई गतिदिन नसकेकै हो । अब स्थायी सरकार मार्फत हामी जनताको चाहना अनुसारको देशलाई गति दिन लागि परेका छौं । जसका कारण पार्टी एकता गरि बलियो सरकार बनाइँ देश विकास गर्न सकिन्छ भन्ने हाम्रो निर्णयलाई जनताले अनुमोदन गरे र दुई तिहाइ दिए । अब चुनौती हाम्रो छ । जनचाहना अनुसार काम गर्नु पर्ने छ । हाम्रो ध्यान अब सुशासन र संमृद्धि तिर अगाडि बढेको छ ।’
फरक प्रसंगमा उनले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अत्यन्तै घनिष्ठ सम्बन्ध रहेको पनि सुनाए । मोदीसँगमात्रै नभएर चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि असाध्यै राम्रो सम्बन्ध रहेको कुरा आफूले भारतमा मोदी र जिनपिङलाई एकैपटक भेट्दा थाहा पाएको सुनाए ।
उनले अहिले सयौं राजा आए भन्ने भनाइको प्रतिवाद गरे । उनले यहाँ अब कोही राजा नभएको बताए । ‘जनताका छोरी छोरीले जिम्मेवारी पाएका छन् यदि उनीहरुले जिम्मेवारी पूरा नगरे पाँच बर्ष भित्र गलत्याईने छन्, यसकारण यहाँ अब कोही राजा नभएको बताए ।



















