कर्मचारी नहुँदा स्थानीय तहको कामकाज ठप्प

सुर्खेत । कालिकोट जिल्लाका स्थानीय तहहरुमा संघीयता लागु भएपनि कर्मचारी उपस्थित नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । जिल्लाका प्राय गाउँपालिका र नगरपालिकामा कर्मचारीको अभावै अभावले कामकाज ठप्प भएको छ । सीमित कर्मचारीहरुबाट मात्र कार्य सम्पादन भई आएकोले कर्मचारी अभावका कारण विकासले गति लिन नसकेका स्थानीयको बुझाई छ ।

प्राय गाउँपालिकामा लेखाका कर्मचारी छैनन् भने सान्नी त्रिबेणी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जस्तो महत्पुर्ण  पद लामो समय देखि रिक्त रहेको छ । आवश्यक कर्मचारी नहुँदा  सम्पुर्ण विकास निमार्णका काम ठप्प भएको गाँउपालिकाका स्थानीय दुर्ग बमले बताए । गाउँपालिकामा हाल सम्म सम्पन्न भएका  कामहरुको भुक्तानी नपाउँदा  उपभोक्ताहरु निकै आक्रोशित बनेका छन् । कर्मचारीले २ महिना यता तलब समेत नखाई कामकाज गर्दै आएको वडा नं. ४ का वडा सचिव रामप्रसाद संज्यालले बताए । संज्यालले भने ‘आर्थिक बर्षको अन्त्य हुन १ महिना मात्र बाँकी रहदा समेत  सान्नी त्रिबेणीमा  महत्वपुर्ण पद पुर्ति गर्न सम्बन्धित निकायको ध्यान पुगेको छैन ।’

स्थानिय निर्बाचन भएदेखिनै यस गाउँपालिकाले  कर्मचारीको अभाव भोग्दै आएको थियो । यस गा.पा.मा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भण्डारी लाई ३ महिनामै २०७५ भदौ महिनामै सरुवा भएर अन्यत्र गएका थिए । 

दशंै तिहार जस्तो महत्वपुर्ण चाडपर्ब नजिकिदा पनि  प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक कर्मचारीहरुले तलब खान नपाउने अवस्था सिर्जना भएकोमा कर्मचारीकै पहलबाट ना.सु. नारायण खड्काको नाममा आर्थिक अधिकार माग गर्न लामै समय सधर्ष पछि केही समयको लागी मात्र समस्या  त हल भयो तर खड्काको पनि समायोजन अन्यत्र हुँदा हित प्रसाद पौडेललाई पदस्थापना गरिएको थियो । पौडेललाई स्थानीयले देख्न नपाउँदै अनेत्र पदस्थापना भएको थियो । उक्त ब्यक्तिको सरुवा गर्न सक्ने निकायले  रिक्त रहेको पद पुर्तिलाई पनि ध्यान पुर्याउनु पर्ने स्थानीय बासिन्दाको भनाइ छ । 

 गाउँपालिकामा रहेका मौजुदा  कर्मचारीलाई आर्थिक अधिकार  प्रत्यायोजन गर्नका लागि गाँउकार्य पालिकाले निर्णय गरि माग गरिएका कर्मचारीलाई अधिकार नदिने र अर्र्कोे तर्फ कर्मचारी खटाउन नसकेको हँुदा  यस गा.पा.को विकासमा पर्न गएको बाधाको जिम्मेवार पक्ष को हुने भन्ने  प्रश्न खडा भएको देखिन्छ  ।

आर्थिक बर्षको अन्तयमा यस गाउँपालिकाले  चुनौतीका साथ  रिक्त पद पुर्ति गरि  बाधाअडचन फुकाउ तर्फ  पहल गर्न बाहेक बिकल्प देखिदैन ।