काठमाडौं । गत शनिबार बिहान ९ बजेबाट विश्व कीर्तिमानी राख्ने उद्देश्यले नृत्य सुरु गरेका एकै घरका दुई दिदीबहिनी रुविशा श्रेष्ठ र एलिसा श्रेष्ठले लक्ष्य पूरा गरेका छन् । यसअघि अमेरिकाका नागरिकले ३८ घण्टा ३० मिनेट युगल नृत्य गरेर राखेको विश्व कीर्तिमानी यी दुई नेपाली चेलीले ४१ घण्टा ५ मिनेट नाँचेर रेकर्ड तोडेका हुन् । सोमबार बिहान दुई बजे उनीहरूले नृत्य सुरु गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै दिदी रुविशाले आफूलाई नाच्ने क्रममा फलफूल र पानीमात्र खाँदा पखालाको समस्याले निकै दुःख दिएको बताइन् । ‘केही घण्टा त सहजै भयो तर खानको ब्यालेन्स नमिल्दा निकै गाह्रो भयो । चिसो खानेकुरामात्र भयो त्यसैले डाइरियाले गाह्रो बनायो’, रुविशाले भनिन्, ‘सबैको साथ सपोर्टले गर्दा पूरा ग¥यौं, साथ दिनुहुने सबैलाई धन्यवाद ।’
बहिनी एलिशाले पनि २२ घण्टा पार गरेपछि मानसिक रूपमै तनाव बढेको बताइन् । ‘जब २२ घण्टाको अवधिमा थियौं कसैसँग बोल्न मन नलाग्ने, कोही अगाडि बोल्यो भने पनि रिस उठ्ने हुन्थ्यो ।’ एलिशाले भनिन्, ‘खुट्टा पोलेर केहीबेर गाह्रो पनि भयो ।’ रुविशा र एलिशाका बुबा सन्तप्रशाद श्रेष्ठले छोरीहरूको आँटलाई परिवारले साथ दिएको बताए ।
उनले घरमा आपूmले अभ्यास गराउने क्रममा ३२ घण्टासम्म पूरा गरेको बताए । ‘घरमा अभ्यास गर्ने क्रममा लगातार ३२ देखि ३३ घण्टासम्म पूरा गरेका थिए । तर हजारौंको अगाडि यसरी नृत्य गर्दा के गर्लान् भन्ने डर थियो । पूरा गरे खुशी लागेको छ’, बुबाले भने, ‘बीचमा छोरीहरूको अवस्था हेरेर मन रोएर आउथ्यो, धेरैपटक सक्दैनौं भने छाडिदेऊ पनि भन्यौं तर उनीहरूले आँट गरिरहेका थिए ।’
कार्यक्रममा सुरुको दिन यसअघि एक सय २६ घण्टा लगातार नाचेर विश्व कीर्तिमानी राखेकी नेपाली चेली बन्दना नेपाल पनि हौसला दिन पुगेकी थिइन् । उनले पनि प्रत्यक्ष हेर्दा आपूmले नाचेको सम्झिएको र त्यो समयमा पीडा अति हुने बताइन् । ‘मलाई थाहा छ त्यो समयमा पीडा कति हुन्छ । आपूm नाँच्दै गर्दा अगाडि पनि नाँचेर साथ दिने मान्छे हुँदा केही राहत मिलेजस्तो हुन्थ्यो । किनकि अरू पनि नाँचेका छन् म पनि नाँच्नुपर्छ भन्ने लाग्थ्यो’, बन्दनाले भनिन्, ‘मैले एक सय २६ घण्टा नाचेपछि अहिले ४० घण्टाका लागि आँट गर्नु सानो कुरा होइन । नृत्यमा दुई विधाको रेकर्ड नै नेपालबाट राखिएको छ खुशी लागेको छ ।’




















