काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कामको प्रगति राम्रो नभएपछि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि प्राधिकरणले जफत गरेको छ भने काम ढिला गरेबापत करिब १६ लाख डलर विलम्ब जरिवानासमेत लगाउने निर्णय गरेको छ । प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।
ठेक्का तोडेपछि कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बंैकका नेपाल कार्यालयका देशीय प्रवन्धक फारिस हढाढ जर्भोससहितको टोलीले आइतबार र सोमबार हेटांैडास्थित आयोजना निर्माणस्थलको निरीक्षण गरेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लंघन गरेकाले ठेक्का तोडिएको बताएका छन् ।
उनले भने, ‘साइटमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटकपटक निर्देशन दियौं तर ठेकेदार कम्पनीले निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, हामीले गरेको पत्रचारको कुनै जवाफ नदिनेलगायत क्रियाकलाप गरी सम्झौता उल्लंघन गर्यो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, नयाँ ठेक्कापट्टका लागि छिट्टै टेण्डर आहृवान गछौं ।’
प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौंडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ ।
१२ किलोमिटरमात्रै तार तानिएको छ । भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा पर्ने २४६ टारमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ । निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य रहेको छ ।
कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकको टोलीले हेटांैडामा निर्माणाधीन सबस्टेसनको निर्माण प्रगतिको निरीक्षण गरेको थियो । हेटांैडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा, भरतपुर र बर्दघाटमा १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडामा २२० र ४०० केभी सबस्टेसनको पनि निर्माण भइरहेको छ । प्राधिकरणले हेटौंडा, ढल्केबर र इनरुवामा २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको सिसिपिजीसँगको ठेक्का तोडी नयाँ ठेकेदार नियुक्त गरेको छ ।



















