कांग्रेसले बनायो छायाँ सरकार– कसलाई कुन जिम्मेवारी ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । वर्तमान सरकारलाई टक्कर दिन केही समय अघि नै कांग्रेसले छाया सरकार बनाउने उद्घोष गरेको भएपनि भर्खर मात्र कांग्रेसको छायाँ सरकार निर्माण भएको छ ।

कांग्रेस संसदीय दलले पुस २४ गते छाया सरकारमा रहन इच्छुक सांसदलाई मन्त्रालय खुलाएर नाम दिन आग्रह गरेको थियो।

 पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

जस अनुसार उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिएका छन् । शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षा संयोजनमा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका ’जनहित विपरितका कामलाई खबरदारी र निगरानी’ गर्न कांग्रेसले छाया सरकार बनाएको जनाएको छ।