काफल आम्दानीको स्रोत बन्दै

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङका प्रायः वनहरुमा अहिले काफल पाकेको छ । तिनै वनमा पाईने प्राकृतिक स्वादिष्ट फल अहिले स्कुले बालबालिकाका लागि आम्दानीको राम्रो स्रोत बन्दै गएको छ ।  निम्न आयस्रोत भएकाहरुले यो समयमा काफलबाट राम्रो आम्दानी गरिरहेका छन् ।  वैशाख लागेसँगै सदरमुकाम क्षेत्रमा फाट्ट फुट्ट काफल  पाईने भएपनि जेठ महिनाबाट भने  काफलको व्यापार बढेको छ ।  यो समयमा सदरमुकाम चैनपुरका सडम पेटी तथा चैताराहरुमा काफल बेच्नेहरु प्रशस्त भेट्न सकिन्छ । काफल पाक्न सुरु भएसँगै यहाँको सदमुकाम चैनपुर  अन्तर्गतका विभिन्न ठाँउमा काफलको व्यापार बढ्न थालेको पाइएको छ ।

यहाँका पुगर, गणखेत, मुङग्रा खोला, कैसाढ, पोसेली, लामाचौर, छयाला, थलारा, लगायतका ठाँउमा रहेका वन क्षेत्रहरुमा काफल खाने र टिप्नेहरु अधिकांश भेट्न सकिन्छ । वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास १० देखि २० रुपैयाँमा बिक्री गरिरहेका भेटिन थालेका छन् ।

काफलले कापी कलम :

यहाँका बालबालिकाले काफल हुने सिजनमा वर्षै पिच्छे काफल बिक्री गर्दै आफनो स्कुलको पढाइ खर्च जुटाउने गरेका छन् । खासै श्रम पनि नलाग्ने र आम्दानी पनि हुने भएकाले यहाँका बालबालिका यतातिर लागेका छन् । जयपृथ्वी नगरपालिका ४ गोलाईका राकेश उपाध्यायले भने, ‘ स्कुल बिहान लाग्ने गरेकोले हामीहरु बिहान स्कुल जान्छौ र दिउँसो जंङ्गलमा गएर काफल टिपेर साँझसम्म बेचेर आउँछौ ।’

सदरमुकाम चैनपुरमा दैनिक जसो सयौको संख्यामा ओहोर दोहोर गर्ने स्थानियहरुले काफल किनेर खाने भएकोले बालबालिकाहरुले संङ्कलन गरेका काफल सजिलै बिक्री हुने गरेको स्थानियवासीहरु बताउँछन् । बजार क्षेत्रमा काफल बेच्नेहरुले राम्रो आम्दानी गर्न थालेको जयपृथ्वी नगरपालिका ५ का स्थानीय ऐन बहादुर सिंहले बताए । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल बिक्रीतिर लागेको अर्का स्थानीय दिनेश बिष्टले बताए । उनले भने, ‘आम्दानी पनि हुने, घरको खर्च पनि चल्ने भएकाले बालबालिकाहरु काफल व्यवसायमा आकर्षित भएका छन् ।’

काफल अत्याधिकः

यस बर्ष बझाङमा ठूलो मात्रामा असिना नपरेकाले जंङ्गलमा यो वर्ष काफल निकै भएको स्थानीयहरु बताउँछन् । पहिलेका वर्षहरुमा असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति र्पुयाउने भएको भएपनि यस वर्ष असिना नआएपछी काफलको सिजन निकै भएकोले काफल खोज्न टाढाको जंङ्गल जानु नपर्ने र नजिकैको जंगलमा काफल टिप्न केही समय लाग्ने गरेको काफल बिक्रेता जयपृथ्वी नगरपालीका ३ कि स्थानीय चेतना विष्टले बताइन् उनले भनिन्, ‘पहिलेको भन्दा यस वर्ष काफल धेरै छ ।

 पानी पनि समयमा नै परेका कारण यस वर्ष काफल पनी निकै स्वादिलो र रसिलो भएको स्थानीय बताउने गर्दछन् । केही समय काफल टिपेर सोही दिनमा नै बजारमा बेचेर घर फर्कन्छौ ।’ यहाँका स्कुले केटाकेटीहरुले शुक्रबार र शनिबार दिनभर काफल टिपेर धमाधम बिक्री गर्ने गरेका छन् । स्कुले केटाकेटीहरु काफल टिपेर आफनो कापी कलम लगायतका अन्य सामग्रीहरु किन्ने गरेको अभिभावकहरु बताउँछन् ।