सर्वेक्षण भन्छ– मुख्य प्रतिस्पर्धा भाजपा र कांग्रेसबीच

काठमाडौं । भारतमा एक महिना अघिदेखि जारी लोकसभा निर्वाचन आइतबार सम्पन्न भएको छ । ५४२ सिटका लागि भएको निर्वाचन सात चरणमा गरी आइतबार सम्पन्न भएको हो । निर्वाचनको परिणाम २३ मे अर्थात बिहीबार सार्वजनिक गरिने भारतको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्रेटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

लोकसभा निर्वाचन सुरु भएसँगै सुरु गरिएको मत सर्वेक्षणमा विभिन्न एजेन्सीहरु संलग्न थिए । उनीहरुले आ–आफ्नो सर्वेक्षण नतिजा सार्वजनिक गरेका छन् ।

उत्तर प्रदेश

भारतमा सरकार गठनका लागि सबैभन्दा धेरै प्रभाव उत्तर प्रदेशको नतिजाले पार्छ। ५ सय ४२ सिट मध्ये उत्तर प्रदेशमा मात्र ८० सिट छ। गत निर्वाचनमा भारतीय जनता पार्टीले ८० मध्ये ७१ सिट जितेको थियो। हिन्दु बहुल उत्तर प्रदेशमा धार्मिक मुद्दाले प्राथमिकता पाउँदै आएको छ। त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पनि उत्तर प्रदेशको बनारसबाट निर्वाचन लडेका छन्। त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धी पनि उत्तर प्रदेशकै अमेठीबाट निर्वाचनको दौडमा छन्। भारतमा कथन छ ‘जसले उत्तर प्रदेश जित्छ उसले सरकार बनाउँछ।’

दलित राजनीतिबाट माथि आएकी मायवातीको बहुजन समाज पार्टीको उत्तर प्रदेशमा राम्रो प्रभाव छ। यही प्रभावले मायावती चार पटक उत्तर प्रदेशमा मुख्यमन्त्री भएकी थिइन्। यसपटक मायावतीको पार्टी र पूर्वमुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।

त्यसैले पनि बिजेपीका लागि उत्तर प्रदेश यसपटक कठिन छ। तर केही अघि भएको प्रदेश निर्वाचनमा बिजेपीले उत्तर प्रदेशमा सरकार बनाएको छ भारतीय जनता पार्टीका योगी आदित्यनाथ त्यहाँ मुख्यमन्त्री छन्। यो निर्वाचनलाई आदित्यनाथको पनि परीक्षा मानिएको छ।

भारतीय टेलिभिजन च्यानल एनडिटिभीले यसपटक बिजेपीले उत्तर प्रदेशमा १६ सिट गुमाउने अनुमान गरेको छ। अघिल्लो पटक ७१ सिट जितेको बिजेपीले ५५ सिट जित्ने एनडिटिभीको मत सर्वेक्षणले देखाएको छ। अर्थात् बिजेपी नै उत्तर प्रदेशमा सबैभन्दा ठूलो पार्टी हुनेछ। भारतीय कांग्रेसले यसपटक पनि २ सिट मात्र जित्ने सर्वेक्षणमा उल्लेख छ। सन् २०१४ को चुनावमा पनि कांग्रेसले दुई सिटमै चित्त बुझाउनु परेको थियो।

जबकी बिएसपी र एसपी गठबन्धनले २३ सिट प्राप्त गर्ने देखाएको छ। बाँकी सिट बिएसपी र एसपीले प्राप्त गर्नेछन्। त्यो बिजेपीको खाताबाट घट्नेछ।

टाइम्स नाउको सर्वेक्षणले त्यहाँ भाजपाले ५८, कंग्रेसले २ र  बहुजन(समाजवादी गठबन्धनले २० सिट ल्याउने देखाएको छ। एबिपीको सर्वेक्षणले भने भाजपा २२, कंग्रेस २ र गठबन्धनको ५६ सिट आउने देखाएको छ। जनकी बातको सर्वेक्षणमा भाजपाको ५३, कंग्रेसको ३ र गठबन्धनको २४ सिट आउने देखिएको छ।

४२ सिट भएको पश्चिम बंगालमा भाजपा एक्लैले पनि केही सिट बढाउने देखिएको छ।  त्यहाँ अहिले तृणमूल कंग्रेस पार्टीले प्रदेश सरकार चलाइरहेको छ। यसपालिको लोकसभा चुनावमा पनि यहाँ तृणमूल कंग्रेस नै पहिलो पार्टी हुने सम्भावना देखाएको छ। विभिन्न मत सर्वेक्षणले तृणमूल कंग्रेसले २४ देखि २८ सिट जित्ने देखाएका छन् भने भाजपाले दोस्रो बढी सिट पाउने देखिएको छ।

पाँच वर्षअघि तृणमूल कंग्रेसले यहाँ ३४ सिट हात पारेको थियो भने कंग्रेसल ४ र भाजपाले जम्मा २ सिट हात पारेको थियो।

यसपालि भने भाजपाले त्यहाँ पनि सिट बढाउने मत सर्वेक्षणमा देखिएको छ ।

टाइम्स नाउका अनुसार पश्चिम बंगालमा भाजपाले ११ सिट जित्ने देखाएको छ भने कंग्रेसले जम्मा दुई सिट पाउने सम्भावना छ।

सी भोटरको मत सर्वेक्षणले पनि यस्तै नतिजा देखाएको छ। उसको सर्वेक्षणअनुसार भाजपा ११, कंग्रेस दुई र अन्य दलले २९ सिट जित्न सक्छन्। जनकी बातका अनुसार त्यहाँ भाजपाले २२, कांग्रेसले ३ र अन्य दलले १७ सिट जित्ने देखाएको छ। सिएनएक्सको सर्वेक्षणले भने भाजपाको १४, कंग्रेसको २ र अन्यलाई २६ सिट हात पर्ने जनाएको छ।  निलसनका अनुसार भाजपाले १६, कंग्रेसले २ र अन्यले २४ सिट पाउने सम्भावना छ।

महाराष्ट्र

महाराष्ट्रमा लोकसभाका ४८ सिट छन्। २०१४ मा त्यहाँ शिव सेना र भाजपा ४१ सिट जितेका थिए। यसपालि पनि उनीहरूले ३६ सिटसम्म जित्ने मत सर्वेक्षण देखिएको  छ।  सी भोटरका अनुसार त्यहाँ एनडिएले ४३ र कंग्रेसको युपिए गठबन्धनले १४ सिट जित्न सक्छन्।

बिहार

भारतीय लोकसभा चुनावमा बिहारका ४० सिटका लागि ७ चरणमा भएको चुनावमा आइतबार ८ सिटका लागि चुनाव भएको थियो।

आइतबार चुनाव भएका नालंदा, पटना, साहिब, पाटलिपुत्र, आरा, बक्सर, सासराम, काराकाट र जहानाबादबाट १ सय ५७ प्रत्यासी थिए।

भारतीय लोकसभा चुनाव आज सकिएसँग त्यहाँका मिडियाले मत सर्वेक्षण प्रकाशनरप्रशारण गरेका छन्।

नेपालको सीमासँग जोडिएकाले विहारको मत सर्वेक्षणमा नेपालीको समेत चासो छ। बिहारमा ४० लोकसभा सिट छन्।

२०१४ को चुनावमा त्यहाँ २२ सिट भारतीय जनता पार्टीले जितेको थियो।  कंग्रेसले २ सिटमात्र पाएको थियो।

अहिले भने भारतीय जनता पार्टीले विहारका मुख्यमन्त्री नितिशकुमारको पार्टी जनता दलसँग चुनावी गठबन्धन गरेको छ भने कंग्रेस आईले पनि अन्य पार्टीहरूसँग गठबन्धन गरेको छ।

चुनाव सकिएपछि आइतबार साँझ यी दुई गठबन्धनले विहारमा कति सिट ल्याउलान भन्ने सवालमा मिडियाका छुट्टाछुट्टै मत सर्वेक्षण सार्वजनिक भएका छन्।

आजतकका अनुसार, भाजपाको गठबन्धन एनडिएले बिहारमा ३८ सिट जित्ने छ। कांग्रेसको गठबन्धन युपीएले भने जम्मा २ सिट ल्याउने देखिएको छ ।

त्यस्तै एनडिटिभीले गरेको मत सर्वेक्षणले भने बिजेपी र एनडीएलाई ३० सिट र कांग्रेस र आरजेडीको गठबन्धनलाई ११ सिट मिल्ने देखाउँछ।

त्यस्तै  एबीपी निल्सनलको एक्जिट पोलका अनुसार  एनडीएले ३४ र यूपीएले जम्मा ६ भोट ल्याउने छ।

सी भोटरले भने एनडीएले  ३३ र यूपिएल  ७ सिट जित्ने छन्।

गुजरात

प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा लोकसभाको २६ सिटमध्ये २४ सिट भारतीय जनता पार्टीले जित्ने अनुमान गरिएको छ।

भारतमा आइतबार मतदान सकिएपछि विभिन्न संस्थाले मत सर्वेक्षण सार्वजनिक गरिराखेका छन्। एबीपी न्युजका अनुसार गुजरातमा २ सिट मात्रै कांग्रेसले जित्ने अनुमान छ।

मोदी सन् २००१ देखि २०१४ सम्म यहाँ मुख्यमन्त्री थिए।

तमिलनाडु

लोकसभा सिटको आधारमा भारतको निर्वाचनमा प्रभावित पार्ने पाँच राज्य मध्ये एक हो ( तमिलनाडू। तमिलनाडूमा लोकसभाको ३९ सिट छ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले सन् २०१४ को चुनावमा तमिलनाडूमा मात्र एक सिट जित्न सफल भएको थियो। तर यसपटक तमिलनाडूमा सिट बढाउन भाजपाले गठबन्धन गरेको छ। उसले तीन क्षेत्रीय पार्टीहरू गठबन्धन गरेको छ। अर्कोतर्फ भारतीय कांग्रेसले पनि त्यहाँ चार वटा क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको छ। राष्ट्रिय पार्टीका रूपमा रहेका भाजपा र कांग्रेस दुबै तमिलमा प्रभावहीन छन्।

तमिलका प्रभावशाली पार्टी एआईएडीएमकेले भाजपासँग गठबन्धन बनाएको छ भने कांग्रेले डिएमकेसँग गठबन्धन गरेको छ। तमिलनाडूको राजनीतिमा सधैँ क्षेत्रीय पार्टीको वर्चश्व रहँदै आएको छ। यसपटक तमिलनाडूमा फिल्म स्टार कमल हसनको पार्टीसमेत निर्वाचनको प्रतिष्पर्धामा छ। त्यस्तै अर्को एउटा पार्टी एआईएडिएमकेबाट फुटेर बनेको एएमएमके पार्टी प्रतिष्पर्धामा छ। यो पार्टीले सबै निर्वाचन क्षेत्रमा उम्मेद्वार खडा गरेको छ।

तमिलनाडूको चुनावमा प्रभाव राख्ने जयललिताको निधनपछि त्यहाँ सत्ताविरोधी माहौल छ। सत्तारूढ भारतीय जनता पार्टी खासै लोकप्रिय छैन। यस्तोमा यसपटक कांग्रेसलाई तमिलनाडूमा फाइदा मिल्न सक्छ।

यसपटक तमिलनाडूको ३९ मध्ये ३८ सिटमा मात्र निर्वाचन भएको छ। वेल्लोरको निर्वाचन रद्द भएको छ। इण्डिया टुडे ग्रुपले गरेको मत सर्वेक्षणमा ३८ मध्ये ३४ सिटमा कांग्रेस गठबन्धनले बाजी मार्ने देखिन्छ। बिजेपी गठबन्धनले बाँकी चार सिट जित्ने सर्वेक्षणले देखाएको छ।

न्युज अइटिनले गरेको सर्वेक्षणमा भने ३८ मध्ये २२ देखि २४ सिटमा मात्र कांग्रेस गठबन्धनले जित्ने देखाइएको छ। बाँकी १४ देखि १६ सिटमा भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले जित हात पार्ने दावी गरिएको छ। गठबन्धनमा भाजपाका उम्मेद्वारले बढीमा दुई सिट र कांग्रेसका उम्मेद्वारले बढीमा ५ सिट जित्ने सर्वेक्षणले देखाएको छ।

त्यस्तै चानक्य न्यूज ट्वान्टीफोरले बिजेपी गठबन्धनले ६ सिट कांग्रेस गठबन्धनले ३१ सिट जित्ने अनुमान लगाएको छ। अन्य दलले एक सिट जित्न सक्ने आंकलन उक्त टेलिभिजनले गरेको छ।

रिपब्लिक सि भोटर मत सर्वेक्षणले कांग्रेस गठबन्धनले २७ सिट र भारतीय जनता पार्टीको गठबन्धनले ११ सिट जित्ने दावी गरेको छ। टाइम्स नावले कांग्रेस गठबन्धनले २९ सिट र ९ सिट भारतीय जनता पार्टीको गठबन्धनले जित्ने दावी गरेको छ।

– विभिन्न स्रोतहरुबाट