खोटाङ । सामान्यतय मानिसको जनघनत्व नभएको र वेला मौकामा कार्यक्रम गरिने सार्वजनिक स्थलहरुमा कार्यक्रम गरेर अधिकांश आयोजकहरुले फोहोर बनाएर छोडेका उदाहरणहरु धेरै पाईन्छन् । तर, दिक्तेलबजारको शिरमा रहेको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा शनिबार विधिवत रुपमा उभौली पर्वको पहिलो दिन साकेला नाचेर किरात राई यायोक्खा खोटाङले फोहोरहरु संकलन गरी व्यवस्थापन गरेको छ । आफूहरुले गरेको फोहोर मात्रै नभएर पूराना फोहोरहरु व्यवस्थापन गरेका हुन् ।
वर्षैपिच्छे आउने किरात राईहरुको महान चाड उभौलीको अवसरमा ऐतिहासिक मझुवागढीमा साकेला नाचमा आएका दर्शक, साकेला नाच्ने मानिस तथा अन्य समयमा भ्रमण गर्ने मानिसहरुले गरेको फोहोरहरुलाई बटुलेर मझुवागढी सरसरफाई गरिएको किरात राई यायोक्खा खोटाङले जनाएको छ । यायोक्खाको टोलीले मझुवागढी, साकेला नाच स्थान र मन्दिर वरपर विस्कुटको खोल, डिउका बोतल, प्लाष्टिकका गिलास, कागज लगायतका कृत्रिम तीन डोको फोहोर संकलन गरेर जलाएका थिए ।
गत वर्षहरुमा यायोक्खाको आयोजनामा साकेला नाचिने चलन भए पनि त्यहाँ जम्मा भएका मानिसहरुले गरेका फोहोरहरु त्यतिकै हुने गरेको थियो । आफूले प्रयोग गरेको कुनै पनि कार्यक्रम स्थलहरुलाई सरसफाई गरेर सफा, सुन्दर बनाउँदा कुनै पनि संघसंस्थाहरुको नैतिकता र कतब्र्य झल्किने भएकाले सरसफाई गरिएको यायोक्खाका उपाध्यक्ष सन्जय कुमार राईले बताए । गरिएको काम सामान्य भन्दा सामान्य हो । मानिसहरुले धार्मिक, पर्यटकीय स्थलहरु फोहोर गर्नु ठूलो इस्यु हैन । तर, त्यही फोहोरहरुलाई व्यवस्थापन गरेर वातावरण स्वच्छ बनाउनु चाँहि राम्रो शन्देस दिनु हो । उपाध्यक्ष राईले भने । ‘प्रचारबाजीको लागि नबुझिदिनु होला कर्तब्य पूरा गर्ने कोशिस गरेका हौं ।’
मझुवागढी अमुल्य र ऐतिहासिक पवित्र थलो तथा महत्वपुर्ण सम्पत्ति भएकाले सके मझुवागढी सफा राखौ, सकिन्न फोहोर गर्दै नगरौ भनी यायोक्खाले अनुरोध गरेको छ । यस गतिविधिले भर्खरै मात्र नयाँ बनेको यायोक्खाको समितिले सामाजिक कार्यमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । दिक्तेलबजारकै पूरानो तथा व्यस्त मानिएको समिक्षालय हलमा धेरै जस्तो संघसंस्थाले कार्यक्रम गर्ने तर, निस्किएको फोहोर व्यवस्थापन नगर्ने प्रवृत्तिले समिक्षालय हल आसपास अझै पनि फोहोर देख्न पाईन्छ । एक समय ‘फोहोरको डङगुरले भरिएको समिक्षालय हल’ भन्ने समाचार मिडियामा आएपछि जिल्ला समन्वय समितिले सामान्य रुपमा सफा गरेको थियो । समिक्षालय हलजस्तै जिल्लामा रहेका प्रायः सरकारी कार्यालय आसपास नै फोहोरहरु भेटिने गरेको छ ।
मझुवागढीमा सरसफाई गर्दै किरात समुदायका मानिसहरु ।
तस्विर : सन्जय कुमार राई ।




















