११ दिनदेखि अनशन

काठमाडौं । जुम्लाकी राधा रावत र पर्साकी नीतु सिन्हा ११ दिनदेखि शान्तिबाटिकामा आमरण अनशनमा छन् । अस्थायी शिक्षकहरूलाई कुनै पनि बहानामा विस्थापित नगर्न र फेरि आन्तरिक परीक्षाको व्यवस्था गरी स्थायी प्रक्रियामा लान माग राख्दै उनीहरू आमरण अनशनमा बसेका हुन् । 

‘अस्थायी शिक्षकलाई विस्थापित गर्न पाइँदैन, संविधानले व्यवस्था गरेको रोजगारीको हक सुनिश्चित गर, रोजगारी खोस्न पाइँदैन,’ भन्दै उनीहरू वैशाख २० देखि अनशन बसेका हुन् । अनशनरत रावत र सिन्हाको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । उनीहरू कुरा गर्न नसक्ने अवस्थामा छन् । 

शिक्षक सेवा आयोगले गत वर्ष लिएको आन्तरिक परीक्षामा असफल भएका अस्थायी तथा करार शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन् । आफू कार्यरत विद्यालयमै र जुन दिनदेखि हाजिर छुटेको थियो त्यही दिनदेखि लागू हुनेगरी काम गर्ने वातावरण सरकारले मिलाउनुपर्ने आन्दोलनरत शिक्षक ललन झाले बताए । 

‘नवौं शिक्षा ऐन संशोधन हुँदा हामीले परीक्षामा अनुत्तीर्ण हुने र स्वतः अवकाश हुने कुरामा असहमति जनाएका थियौं,’ उनले भने, ‘सरकारले हामीलाई स्थायी गराउनैपर्छ भन्ने हाम्रो मुख्य माग होइन, हामीलाई सेवाको निरन्तरता दिने मौका दिनुपर्छ ।’ स्थायी नै गराउने हो भने त्यो स्तरको परीक्षा हुनुपर्ने उनले बताए । 

‘परीक्षा लिनुपर्ने उमेरमा आयोगले नलिएको र अहिले १७ वर्षपछि परीक्षा लिँदा ४५–५० वर्ष उमेर कटेकाहरूले कसरी परीक्षामा लेख्न सक्छन् ? कक्षामा पढाउनु र परीक्षा दिनु नितान्त फरक कुरा हुन्,’ उनले भने । 

सरकारले असफल शिक्षक भनेर प्रचार गर्दा आपूmहरू अपमानित भएको महसुस गरेको उनले बताए । ‘बीस वर्ष काम गर्दा असफल नभएका शिक्षकहरू तीन घण्टाको परीक्षामा कसरी असफल भयौं ?’ उनले प्रश्न गरे । सेवाको निरन्तरता भएपछि मात्रै सरकारले परीक्षामा दिनुपर्ने उनको भनाइ छ । विद्यालयमा पढाउनेबाहेक आपूmहरूसँग कुनै सीप नभएको र सरकारले गोल्डेन हृयाण्ड सेकको नाममा शिक्षक पेसाको नै बदनाम गर्न खोजेको उनले आरोप लगाए । 

अर्का शिक्षक बिगु साहले आन्दोलन गरिरहेको समयमा प्रहरीको कस्टडीमा राखेर लिएको परीक्षा कसरी स्वस्थ हुन्छ भन्दै प्रश्न गरे । आपूmहरू मानसिकरूपमा परीक्षाका लागि तयार नभएको अवस्थामा आयोगले परीक्षा लिएको भन्दै उनले त्यसमा सरकारले जसरी पनि आफूहरूलाई घर पठाउने योजनाका साथ आयोगलाई परीक्षा लिनका लागि निर्देशन दिएको बताए । 

‘सबैलाई रोजगारीको व्यवस्था गर्ने भन्दै संविधानमा लेखिएको भन्ने तर हाम्रो रोजगारी खोस्ने सरकारको यो कामलाई के भन्ने ?’ उनले भने, ‘अरूले पाएको रोजगारी खोसेर आप्mनालाई दिने, यो सत्तापक्षले चलाएको कार्यकर्ता भर्ना अभियान हो ।’

सरकारले अवकाश पत्र थमाएपछि चारजना शिक्षकको हृदयाघातबाट ज्यान गएको भन्दै अब आपूmहरूले उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने माग राख्दै थप आन्दोलन गर्ने उनले चेतावनी दिए । अनशनको ११ दिनसम्म पनि सरकारले वार्ताका लागि कुनै प्रतिनिधि नपठाएको उनले बताए । 

अर्का शिक्षक कप्लेश्वर मण्डलले १२ हजार ७३९ शिक्षकलाई अपमानित गर्दै गोल्डेन हृयाण्ड सेकको बहानामा विस्थापित गर्न खोजेको बताए । आपूmहरूले अपमानजनक रकम नलिने भन्दै उनले आफूहरूलाई ससम्मान सेवामा निरन्तर फर्कने वातावरण बनाउनुपर्ने माग गरे । यदि कसैले गोल्डेन हृयाण्ड सेक लिएर जाने इच्छा राख्छन् भने औषधि उपचारको ग्यारेण्टीसहित रकम उपलब्ध गराउनुपर्ने उनले बताए । 

यता, सरकारले एकपटक आन्तरिक प्रतिस्पर्धामार्फत मौका दिएकाले अब पुनः परीक्षाका लागि कुनै मौका नदिने बताउँदै आएको छ ।