ललितपुर । ललितपुर महानगरपालिका कार्यालय परिसर खचाखच भयो । पञ्चे बाजे, धिमे बाजा, धाँ बाजालगायतले वातावरण उत्सवमय भयो । महानगरको मुख्य गेटमा बग्गी रोकियो । महानगर मेयर चिरिबाबु महर्जनले सोमबार एक सय वर्षमा प्रवेश गरेका सत्यमोहन जोशीलाई बग्गीबाट कार्यक्रमस्थलतर्फ लगे । मेयर र नगरवासीसँगै मञ्चमा पुगेका सत्यमोहनले झण्डै २० मिनेट मन्तव्य दिए । जोशीले केहीबेर व्यक्तिगत कुरा गरे । कला, संस्कृति, र सम्पदाको कुरासँगै शताब्दी लामो दीर्घ जीवनको रहस्य सुनाए । उनका अनुसार गुनासोरहित जीवन नै दीर्घ जीवनको मुख्य आधार हो । आपूmलाई त्यस्तै अनुभव भएको उनले बताए । जोशीले भने, ‘मैले कहिल्यै यो भएन, त्यो भएन भनिनँ, भत्ता पुगेन पनि भनिनँ, छोराहरूले ध्यान दिएनन् पनि भनिनँ ।’ उनले जनताले गरेको सम्मान आप्mनो दीर्घ जीवनको ऊर्जा भएको पनि बताए । दीर्घजीवनका लागि आफूलाई ईश्वरीय वरदान प्राप्त भएको अनुभव भइरहेको पनि बताए । उनले भने, ‘वृद्ध हुनु भनेको ईश्वरीय वरदान हो ।’
समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नयाँ पुस्ताका लागि सत्यमोहन जोशी आदर्श व्यक्तित्व भएको बताए । उनले भने, ‘उहाँ हामी सबैको लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।’ उनले जोशी नेपाली समाजको जीवन्त सम्पदाका रूपमा रहेको र जोशीको सफलता, मिहिनेत र कर्मशीलताको अनुपम उदाहरण भएको बताए । उनले भाषा र साहित्य राष्ट्र निर्माणका लागि आधार स्तम्भ भएकोले मुलुकको गरिमा उँचो बनाउन सहयोग गर्ने बताए । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जीवित छँदा नै जीवित छँदै सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको बताए । उनले नगरभित्रका ज्येष्ठ नागरिकहरूको सहज जीवनयापनका लागि ज्येष्ठ नागरिक भत्तामा समेत वृद्धि गरिएको उनले बताए
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सत्यमोहन जोशी राष्ट्रको निधि भएको बताउँदै ललितपुरले उनको सम्मान गरेकोमा सराहना गरे । प्रतिनिधिसभा सदस्य पम्फा भुसालले सत्यमोहन जोशीको क्रियाशीलता अपूर्व रहेको बताइन् । प्रदेशसभा सदस्य जीवन खड्काले जोशीको कृतिले उनलाई हजारौं वर्षसम्म सधैं जीवित राख्ने बताइन् ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले ललितपुर महानगरपालिका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी जस्तो व्यक्तित्वको जन्म शताब्दी महोत्सव मनाउन पाउँदा गौरवान्वित भएको र ज्येष्ठ नागरिकको सम्मानमा महानगर संवेदनशील रहेको बताइन् । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध मजबुत बनाउन सत्यमोहन जोशीको योगदान महŒवपूर्ण रहेको बताए ।
समारोहमा जोशीलाई नेपाल सरकार, ललितपुर महानगरपालिका र उपत्यका नगरपालिका फोरमका तर्फबाट सम्मानका साथै कदरपत्र प्रदान गरिएको थियो । जोशीको जन्मशताब्दी महोत्सवको अवसरमा एक सय वर्ष पूरा गरेका ललितपुर महानगरपालिकाभित्रका चारजना ज्येष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । समारोहअघि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई रथमा राखेर नगरपरिक्रमा गराइएको थियो । ¥याली मंगलबजारबाट लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोकसम्म पुगेको थियो ।
वाङ्मय शताब्दी पुरुष जोशी जन्म शताब्दी महोत्सव कार्यसम्पादन समितिका संयोजक तथा ललितपुर महानगरापालिका–३ का अध्यक्ष श्रीगोपाल महर्जनले जोशीको सम्मानमा एक वर्षभरि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिए । जोशी वैशाख ३० गते सय वर्षमा प्रवेश गरेका हुन् ।




















