मच्छिन्द्रनाथ रथारोहण

ललितपुर । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज साँझ ६ बजेर ९ मिनेटमा  रथारोहण गरिएको छ । ललितपुरको कटुवाल दहबाट मच्छिन्द्रनाथलाई कलशमा छोपेर विभिन्न विधिपूर्वक तःबहालस्थित मन्दिरमा महिलाले बोकेर ल्याई तान्त्रिक विधिद्वारा प्राण हालेपछि आठ पानेजुमध्ये चारचार जनाले पूजाआजा र बाजागाजासहित खटमा राखेर पुल्चोक पु¥याई रथमा विराजमान गराइएको हो । रथारोहणमा हजारौँ भक्तजनको सहभागिता थियो । 

मच्छिन्द्रनाथ बोकिएको खट अगाडि मुख्य गुरुज्यू दाहिने हातमा ऊ लेखेको ‘ज्वालान्याक’ नामक थाली आकारको भाँडो र बज्र बोकी बायाँ हातले शङ्खघण्टा बजाएर मच्छिन्द्रनाथ अघि हिँडाउने चलन भएको मन्दिरका ५८ वर्षीय पुजारी भुवनराज शाक्यले जानकारी दिए । “साँझमा भगवान् बोक्ने आठ जना गुरुज्यू अर्थात् पानेजुले नियमपूर्वक व्रत बसेर भगवान्लाई लानुपर्ने हुन्छ”, शाक्यले भने, “भगवान् बोक्दा यी गुरुले हिँड्दा शिरमा टोपी र खुट्टामा जुत्ता लगाउनु भने हँुदैन ।”

यक्षराजका १०८ छोरामध्ये मच्छिन्द्रनाथ सबैभन्दा सानो अर्थात् कान्छो हुन् भन्ने परम्परा नेवारी समुदायमा छ । आजको चार दिन अर्थात् बुधबार ४ बजेपछि मच्छिन्द्रनाथको रथ तान्न शुरु गरिने शाक्यले बताउनुभयो ।  रथारोहणपछि सोमबार नेवार समुदायले मच्छिन्द्रनाथलाई अन्न चढाएर नातागोता इष्टमित्र डाकी भोज खुवाएर भुज्या पर्व मनाउने गर्छ ।