रूसी हवाई जहाजमा आगो लाग्यो–४१ जनाको मृत्यु

एजेन्सी । रुसको मस्कोस्थित सेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रिय ध्वजाबाहक ’एयरोफ्लोट’को ’सुखोई एसएसजे–१००’ विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए । विमान अवतरण हुने क्रममा ठूलो आगलागी भएको थियो।

अवतरण लगत्तै विमानमा आगो लागेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जल्दै गरेको विमानबाट निस्कनका लागि यात्रुले आपतकालीन द्वारको प्रयोग गरेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा देखिएको छ ।

रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । उद्धार गरिएका ६ जनालाई स्थानीय अस्पतालमा लगिएको र तीनजनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुनेका परिवारजनमा समवेदना अर्पण गरेका छन्।

रिपोटका अनुसार विमानलाई आकस्मिक अवतरण गर्ने पाइलटहरुको पहिलो प्रयास असफल भएको थियो। ट्रेकिङ वेबसाइट ’फ्लाइटरडार द्दद्ध’ का अनुसार विमान उडको करिब आधा घन्टा भित्रै आकस्मिक अवतरणको प्रयास गरिएको थियो।