ती चौतारा, पाटीपौवा र फलैँचा

यो पंक्तिकारको स्थायी ठेगाना पूर्वी पहाडी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिका–४ (साविक सम्दु–७ संगपु) हो । हुन त कुनै पनि जात वा जातिको पुख्र्यौली थलो, उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यस्तै यो पंक्तिकारको पुख्र्यौली थलो अर्थात् पुर्खाहरूको बसोवास हालको राजनीतिक विभाजनअनुसार एक नम्बर प्रदेश, सोलुखुम्बु जिल्लाको महाकुुलुङ गाउँपालिकाको पेल्माङ÷पिल्मोङ क्षेत्र हो । त्यहाँबाट विभिन्न कारणले हाम्रा पुर्खाहरू हालको ठेगानामा गएर बसेको हो । लिम्बुहरूले आप्mनै वंश वा भनौँ दाजुको सन्तान मानेर बस्नका लागि जमिन (ठाउँ) दिएका थिए । किनभने, १० लिम्बु र १६ खम्बु दाजुभाइ हो भन्ने प्रचलन अभैm पनि हटिसकेको छैन । 

यो पंक्तिकारलाई समेत जोड्दा हाम्रो पुर्खाहरू लिम्बुवान भूमिको फेदाप क्षेत्रमा गएर बसेको ७ पुस्ता हुन्छ । पंक्तिकार सानो हुँदा गाउँघरका बाजे–बजु (लिम्बु भाषामा थेबा–युमा र कुलुङ भाषामा फपा–मुमा) हरूले ‘हामी एकै किरातीका सन्तान हौँ, तिमीहरू १६ खम्बु (दाजु) र हामीहरू १० लिम्बु (भाइ) हौं’ भन्थे । यो पंक्तिकार सानो छँदा लिम्बु बज्यैहरू मातृभाषामा ‘खम्बेले’ ‘खम्बेले’ भन्दै गफ गर्दा कुलुङेनी बज्यैहरू ‘तिमी लिम्बेले’ ‘तिमी लिम्बेल’े भनी रिसाउँथे । किनकि हाम्रा कुलुङेनी बज्यैहरूले खम्बुलाई हेपेर त्यसो भनेको अर्थमा बुझ्थे । तर, खासमा ती लिम्बुनी बज्यैहरूमध्ये केहीको माइती ताप्लेजुङ थियो । 

ताप्लेजुङका लिम्बुहरू त्यसो भएकोले÷त्यसो भएको हुँदा भन्ने अर्थमा ‘खम्बेले’ भन्छन् भने फेदापेहरू ‘हेकेल्ले’ भन्छन् । त्यसैले मातृभाषा कुराकानी गर्ने क्रममा ताप्लेजुङ माइती भएकी बज्यै गफगाफ हुँदा जहिल्यै खम्बेले, खम्बेले भन्थिन् । तर, हाम्रो कुलुङेनी बज्यैहरूले भने आपूmहरू आउँदा मात्रै आपूmहरूलाई होच्याएर खम्बेले, खम्बेले भनेको भन्ठान्थे । 

सुरुमा लिम्बु भाइहरूले खम्बु दाजुहरू (हाम्रा पुर्खाहरू) लाई आफ्नै दाजुभाइ सम्झेर बस्न दिएको ठाउँ–जग्गा साविकको सम्दु–५ नम्बर वडाको सदासपुर गाउँ हो । जहाँ सजिलैसँग चारमाना धानको बिऊ रोप्दा एक मुरी धान फल्छ । तर, कुलुङेहरूलाई औल÷अहुल नफोपेको र सिकार गरेर र पासो थापेर जनावर र चराचुरुङ्गी खानुपर्ने भएकोले माथिल्लो भेगमा बस्नका लागि ठाउँ मागे । जहाँ धान फल्दैन । मकै, कोदो, जौ, आलु, फापर, गहुँ, तोरी, फल्छ । तर, जंगल नजिकै छ । 

हुन पनि सदासपुरमा चैतमा छरेको मकै साउन नलाग्दै पाक्छ भने माथि फागुन सुरुमै छरेको मकै असोजको मध्य–अन्त्यमा मात्रै पाक्छ । अझ माथि (लेकमा) त कात्तिकमा मात्रै मकै पाक्छ, जुन गाउँ–ठाऊँलाई हाल पैपुङ (लिम्बु भाषामा निभारालाई पएप्पा भनिन्छ । सोही शब्दको परिस्कृत रूप नै हालको पैपुङ हो) भनिन्छ भने साविकको सम्दु, ६ नम्बर वडा हो । हुन त अहिले आएर केही लिम्बु मामा (कुलुङ भाषामा कोक्पा) हरू लिम्बुहरू किराती होइनन् पनि भन्दै छन् । त्यतातिर अहिले बहस नगरौं । त्यसैले गाउँघरका हराउँदै, मासिँदै र नासिँदै गएको चौतारो, पाटीपौवा, धर्मशाला आदि हराउँदै गएको विषयमा लेख्ने प्रयास गरिएको छ ।

पूर्वी पहाडी जिल्ला तेह्रथुममा (पूर्वका अरू जिल्लाका साथै देशैभरि) हाम्रो पालासम्म चौतारो, पाटीपौवा, धर्मशाला आदि प्रशस्तै हुन्थे । यो पंक्तिकारकै मावली गाउँ संगपुमा मात्रै कम्तिमा सात–आठ वटा त चौतारामात्रै थिए । त्यस्तै केही पाटीपौवा वा भनौँ धर्मशाला पनि थिए । त्यसमध्ये गोताम चौतारो, पिपली चौतारो आदि अलि नै नाम चलेका चल्तीमा  थिए ।

अहिले ‘¥याप’ ले ल्याइदिएको बाटो (ग्रामीण सडक) सँगै ती चौताराहरू पनि मासिए । जुन चौतारा गाउँलेहरू वस्तु–भाऊ गरेर, घाँस–दाउरा गरेर, मेला–पात गरेर घर फर्किंदा भारी बिसाउँथे । हाक्पारे, पालाम र ख्याली भन्थे । नेपाली भाषाका गीत पनि गाउँथे । थकाइ मार्थे । दुःख, सुखका गफ गर्थे । तर, आज कतैकतै बाँकी रहेका त्यस्ता चौतारा, पाटीपौवा, धर्मशाला पनि अस्तित्वविहीन र संरक्षणविहीन अवस्थामा छन् । ढल्न लागेका छन् । भत्कन लागेका छन् । कतैकतै त अवशेष मात्रै बाँकी देखिन्छ । कतिपय गाउँ–ठाउँ र नजिकै घर भएका घरपरिवारको नामै पाटी गौं–गाउँ, पौवा–भञ्ज्याङ, पौवा–सरताप, धर्मशाले, चौतारे गाउँ–घर भनी सम्बोधन गरिन्थ्यो । नाम रहेको थियो । 

त्यसरी चौतारो, पाटीपौवा, धर्मशाला आदि बनाउनुको पनि खास कारण हुन्थ्यो । जसले बनाएको हो, उसको घर–परिवारभित्रको कोही न कोही बितेको (मरेको) हुन्थ्यो । ती मरेर जानेलाई चिरकालसम्म सम्झनका लागि विशेषतः चौतारो, पाटीपौवा, धर्मशाला आदि बनाइन्थे । त्यसरी बनाइएको चौतारोको बीच भागमा शीलालेख लेखिन्थ्यो, जहाँ मरेर जानेको उमेर, नाम, थर, वतन आदि उल्लेख गरिएको हुन्थ्यो । 

चौतारोसँगै वर–पिपलको रूख पनि हुन्थ्यो भने सकेसम्म पानीको धारो पनि नजिकै हुन्थ्यो । बटुवाहरूका लागि तिर्खा मेट्न सकेसम्म पानीको धारो व्यवस्था गरिन्थ्यो । शायद उहिलेका मान्छेहरूका लागि मरेर जाने आफन्त वा भनौं परिवारजनलाई चिरकालसम्म सम्झने माध्यम नै यही एउटा थियो । हाम्रो पालासम्म गाउँ–घरमा हिँड्दा–डुल्दा यही देखेका थियौँ । तर, आज हिजोको त्यो स्थिति रहेन । के भनिन्छ भने, विकाससँग विकास मात्रै आउँदैन, अरू दुई कुरा अनिवार्य आउँछन् । ती हुन्– विनास र वकिृति । विकाससँग अरू पनि धेरै कुरो आएको देखिन्छ । त्यतातिर अहिले नजाऊँ ।

पहिले पहिले कुनै निश्चित गन्तव्यमा पुग्नु छ भने बिहान भालेको डाकमै उठेर हिँड्ने गरिन्थ्यो । हिँड्नुअघि जे–जति रुचेको घरैमा खाइन्थ्यो । बाँकी खाजा (चाम्रे) वा भुटेको भात बोकेर हिँडिन्थ्यो । बटुवा डाँडा काटेर र खोला तरेर जान्थे । डाँडाहरू जंगलको बीचमा पनि हुन्थ्यो । नाँगी (नांगो) डाँडा पनि हुन्थ्यो । बटुवाले एक गाउँ–ठाउँ काटेर अर्को गाउँ–ठाउँ लाग्ने (डाँडा) ठाउँलाई ‘देउराली’ भनिन्थ्यो । ‘देउराली’ प्रायः डाँडोमा नै हुन्छ । 

यसरी देउरालीमा पुगेपछि प्रायः सबै बटुवाहरूले पाती चढाउँथे । कसैकसैले पातीसँगै रंगीचंगी ध्वजा पनि चढाउँथे । चौतारोसँगै फलैँचा, पाटी, धर्मशाला ढुंगेधारा वा कुवा हुन्थ्यो । देउरालीमा प्रायः टाढा–टाढाका बटुवाहरूले खाजा खान्थे । तम्बाकु–सुर्ती खान्थे । त्यसरी खाजा, तम्बाकु र सुर्ती नै नखाए तापनि पाती अनिवार्य चढाउँथे, केही क्षण थकाइ मार्थे, आराम गर्थे र फेरि आफ्नो बाटो लाग्थे । 

नजिक गाउँ वा घर भएका मान्छेहरू पनि घाँस–दाउरा, मेलापात गर्ने क्रममा बिहानी होस्, वा बेलुकी अथवा दिउँसोको मध्य घाममा नै किन नहोस्, एकछिन भए पनि बिसाएर थकाइ मार्थे । आराम गर्थे । साथमा दुःखसुखका कुरा गर्थे । यसरी लामो यात्रामा निक्लेका टाढा–टाढाका बटुवाहरूदेखि लिएर नजिकैका गाउँलेहरूका लागि पनि चौतारो, पाटीपौवा, धर्मशाला आदि थकाइ मार्ने ठाउँ हुन्थे ।

त्यति मात्रै होइन, कतिपय टाढाका बटुवाहरूका लागि बास बस्ने÷रात बिताउने ठाउँ पनि यस्तै चौतारो, पाटीपौवा, फलैँचा, धर्मशाला नै हुन्थे । चौतारो, पाटीपौवा, फलैँचा, धर्मशाला आदि नभएको ठाउँमा ठूलो रूखको फेद, ओढार, गोठ आदिमा पनि बटुवाहरूले रात बिताउँथे । 

आजभोलि विकासको लहरसँगै गाउँगाउँमा आएको भ्याक्कु (सडक खन्ने डोजर) ले अधिकांश चौतारा, पाटीपौवा, फलैँचा, धर्मशाला आदि र चौतारीमा रोपिएको÷हुर्किएको बर–पिपलको रुखको समेत अस्तित्व नामेट पारिदिएको छ । हुन पनि मान्छेहरू कम्तिमा दुई–तीन दिनदेखि हप्ता–दश दिनसम्म हिँड्थे । तर, अहिले त हिँडेर जाँदा एक–दुई घण्टा लाग्ने ठाउँमा पनि चार–पाँच घण्टा पर्खेरै भए पनि मान्छेहरू गाडीमै चढेर जान्छन् । 

ऊ बेला हाम्रा पिता–पुर्खा वा भनौँ जिजु–बराजुहरूले मान्छे हिँड्ने बाटोघाटोमा बनाइदिएका ती चौतारा, पाटीपौवा, फलैँचा, धर्मशाला आदिमा हामीले राम्रोसँग ख्याल गरेर हेर्दा र पढ्दा के देख्छौं भने ती वर–पिपलको फेदमा रहेका÷बनाइएका चौतारा अनि पाटीपौवा, फलैँचा र धर्मशालाहरूमा त्यसरी बनाउनेहरूले स्वर्गीय भइसकेका आफन्तहरूको नाम, वतन, जन्ममिति, मृत्यु भएको मिति लगायतका कुराहरू मात्रै नलेखेर एक परिवारको वंशावली नै लेखिएको हुन्थ्यो । साथमा रैथाने कला र इतिहास पनि संरक्षण गरिएको हुन्थ्यो । अब ती सबै क्रमशः नासिँदैछन् ।