म रोएकी छैन
अँह ! म कति पनि रोएकी छैन
बानी परेको छ मलाई
पीडाहरू सहने
म अभ्यस्त छु तिनमा ।
यस्ता पीडाहरू
हाँसी हाँसी सहने र पचाउने
बानी परेको छ मेरा सन्तानहरूमा पनि ।
सखापै पारेर लतार्छौ भने पनि
जुर्मुराउँदै उठ्नेछन् ती
अदम्य साहस बटुलेर
कति पनि विचलित नभईकन
जति पछारिए पनि ।
कहिले उचाल्ने र थेचार्ने गरी
सबै विध्वंस मच्चाइदिन्छौ
आँधी बेहरी भएर सोत्तरै पारिदिन्छौ
तिमी निर्दयी बनेर
चोटै चोट पु¥याइदिन्छौ ।
सामना गरिरहन्छन् मेरा सन्तानहरू
संघर्ष गरिरहन्छन् ।
भारी थामिरहन्छन्
एकले अर्काको काँधको
बलपूर्वक घुँडा टेक्दै
समाउँदै काँधमा काँध मिलाउँदै
हातले हात समाउँदै
हिमाल, पहाड, तराई एकै हुँदै
उठ्नेछन् र भिड्नेछन्
डगमगाउन दिने छैनन्
यो धरातललाई
कति पनि आँच आउन दिने छैनन्
यो भूगोलमा
त्यसैले गर्व लाग्छ,
मलाई मेरा सन्तानदेखि
अनि यो सौन्दर्यले भरिपूर्ण भूगोलभित्र
सानो छुट्टै
आफ्नो परिचय स्थापना गरी
म ‘नेपाली हुँ’ भन्न
मिलिजुली एक आपसमा
सरसहयोग गरेको देख्दा
हर्षविभोर हुन्छु म ।
प्रत्येक मौसमी र बेमौसमी ताण्डवहरू
सहँदै र सामना गर्दै
लरखराएका पाइलाहरू
आफ्नो मार्गबाट नबिराई निरन्तर निरन्तर
गन्तव्यमा,
कहिले वायुपंखी घोडाको रफ्तारले
त कहिले सुषुप्त गतिमा चलिरहेको छ ।
ओ ! निर्दयी, मौसम !
मेरा सन्तानको बिचल्ली बनाएर
तँ मजा लिँदैछस् होइन त ¤
तँ हाँसी हाँसी
कहिले आँधी बेहरी बन्दै
कहिले भेलबाढी बन्दै
त कहिले प्रलयकारी हुँदै
कतिसम्म दिन सक्छस् पीडा ¤
दे अझ दे
म आतिन्नँ कदापि
अँह ! बारा र बारपाक हुँदै
विध्वंशै विध्वंश मच्चाएर
आउँने क्रम रोकिएको छैन तेरो ।
त्रास फैलाउँन छोडिनस् अझै ।
चट्याङ भएर फैलिँदै
आकाश थर्काउन छोडिनस्
बादल हुँडलेर बेमौसमी वर्षात्
कहिल्यै छोडिनस् वर्षाउँन
तेरा हरेक ताण्डवसँग
जुध्ने अदम्य र अद्भूत साहस
परापूर्वकालदेखि नै
भावी पुस्ताको रक्तकोशमा
धमनी र शिराहरूमा
नश्ल नश्लमा लुकेर बगेको छ ।



















