मलेसियामा अवैध रूपमा e-PLKS (अस्थायी रोजगार अनुमति) मिलाइदिने कार्यमा संलग्न रहेको आरोपमा विदेशी एजेन्ट पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) ले सेलाङ्गोरस्थित बन्दार महकोटा, चेरास क्षेत्रमा विशेष अपरेशन सञ्चालन गर्दै अवैध रूपमा e-PLKS (अस्थायी रोजगार अनुमति) मिलाइदिने कार्यमा संलग्न रहेको आरोपमा एक म्यानमारका नागरिकलाई पक्राउ गरेको छ।

अध्यागमन विभागका अनुसार पक्राउ परेका व्यक्तिले विदेशी कामदार व्यवस्थापन प्रणालीको दुरुपयोग गर्दै गैरकानुनी रूपमा PLKS उपलब्ध गराउने गिरोहसँग आबद्ध भएर लामो समयदेखि गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अपरेशनका क्रममा १६ वटा म्यानमारका राहदानी, नक्कली भएको आशंका गरिएको PLKS का प्रतिलिपिहरू, कामदार आपूर्ति सम्बन्धी विभिन्न कागजात तथा एउटा टोयोटा यारिस कार बरामद गरिएको विभागले जनाएको छ।

यसै क्रममा वैध PLKS भएका चार जना म्यानमारका नागरिक तथा कुनै वैध यात्रा कागजात नभएका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार उक्त गिरोह सन् २०२६ को सुरुदेखि नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतराजाया अध्यागमन कार्यालयमा पठाइएको छ।

अध्यागमन विभागले यस गिरोहसँग सम्बन्धित अन्य सदस्यहरूको खोजी तीव्र पारिएको जनाएको छ। साथै, विदेशी कामदार व्यवस्थापन प्रणालीको दुरुपयोग गर्ने तथा नक्कली रोजगार अनुमति बनाउने जो–कोहीविरुद्ध कडा कानुनी कारबाही जारी रहने चेतावनी दिएको छ।

अधिकारीहरूले विदेशी कामदार तथा रोजगारदातालाई वैधानिक प्रक्रियामार्फत मात्रै रोजगार अनुमति लिन आग्रह गर्दै कुनै पनि गैरकानुनी सेवा वा एजेन्टको प्रलोभनमा नपर्न पनि अनुरोध गरेका छन्।