गोला–बारुद छोडेर आए वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा गोला–बारुद बिसाएर आए वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । शान्तिपूर्ण तरिकाले पनि राजनीतिक समस्याहरू समाधान गर्न सकिने भन्दै सरकारले हतियार बिसाएर आए वार्ता गर्न सकिने जनाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकले सधैं सशस्त्र द्वन्द्व नस्वीकार्ने बताए । सरकारले विप्लव समूहलाई बारम्बार वार्तामा आउन आग्रह गरको उनको भनाइ छ ।

अनुचित, गलत, असभ्य, असान्दर्भिक तथा दार्शनिक र राजनीतिक हिसाबले आजको समाजले स्वीकार गर्न नसक्ने खालका विषय छाडेर आउँदा कोही पनि सानो नहुने र त्यसो भयो भने सरकार सधैं वार्ताका लागि तयार रहेको मन्त्री बास्काटाले बताए ।

‘गोला–बारुद बिसाउनुहोस्, हतियार कुनै पनि कुराको समाधान होइन, हतियारको सशस्त्रीकरणले सामाजिक समस्याहरू समाधान हुँदैनन्, बास्कोटाले भने, ‘चेतनाको सशस्त्रीकरणले मात्रै त्यो सम्भव हुन्छ । राजनीति पनि त्यसैको रूप हो ।’

मन्त्री बास्कोटाले राजनीतिक मैदान खाली रहेको र देशको संविधान स्वीकार गरेर जताबाट खेले पनि हुने बताए । ‘राजनीतिको मैदान खाली छ जताबाट खेले पनि हुन्छ,’ उनले भने, ‘हिंसालाई छोड्नुप¥यो आतंक मच्चाउन छोड्नुप¥यो तर तपाईं छोड्दै छोड्दिन भन्नुहुन्छ भने हामी के गर्न सक्छौं ? भीरमा जाने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थप्न त सकिँदैन ।’

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले समाजलाई द्वन्द्वतिर धकेल्न नहुने बताए । उनले भने, ‘नेपाली समाजले १० वर्ष एउटा सशस्त्र द्वन्द्व भोग्नुप¥यो त्यसका पीडाहरू के कति छन् भन्ने कुरा समाजले बुझेको छ । अब कसैले गजब छ भनेरमात्रै हुँदैन । द्वन्द्वमा पर्नेहरूलाई थाहा हुन्छ कति पीडादायक हुन्छ भने ।’ अहिलेको संविधानले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन नपाइने र हिंसालाई छुट दिनै नसकिने मन्त्री बास्कोटाले बताए ।