अनुमोदन नभई अन्सारी अध्यक्ष नियुक्त

काठमाडौं । संवैधानिक परिषदको सिफारिस भए पनि संसदीय सुनुवाइबाट अनुमोदन नभएका समिम मियाँ अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका छन् । सुनुवाइबाट अनुमोदन भएका अन्य चार जना अध्यक्षसँगै अन्सारीको नियुक्ति भएको हो ।

संवैधानिक परिषदको सिफारिस भएका पदाधिकारी संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा.शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । अन्सारीको नाम भने नियमावलीमा निर्धारित म्यादभित्र अनुमोदनको निर्णय हुन सकेको थिएन ।

सुनुवाइ समितिले चार जनाको मात्र नाम अनुमोदन गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । अनुमोदन भएका चार जना र अन्सारीको समेत नियुक्ति भएको हो । सुनुवाइसम्बन्धी नियमावलीमा सुनुवाइको सिफारिस भएको ४५ दिनसम्ममा नाम अनुमोदन नभए नियुक्तिका लागि बाधा नपर्ने प्रावधान छ । सुनुवाइ समितिको दुई तिहाइ बहुमतले सिफारिस अस्वीकृत गर्न सक्ने प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा मियाँसहित आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनीयताको शपथ गराए ।

संवैधानिक परिषदले गत माघ ५ गते पाँच वटा आयोगमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गरेको थियो । परिषद बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । कांग्रेसले नियमअनुसार विपक्षी नेतालाई बैठकको जानकारी नदिएको आरोप लगाउँदै आएको छ । विपक्षी नेतालाई बैठकमा नबोलाई नियुक्तिको निर्णय गरेको आरोप लगाउँदै कांग्रेसले सच्याउन माग गरेको थियो । सुनुवाइ समितिमा रहेका कांग्रेसका प्रतिनिधिहरूले सुनुवाइ बैठक बहिस्कार गरेका थिए ।

अन्सारीको जन्ममिति र शैक्षिक योग्यतामा प्रश्न उठेको थियो । सुनुवाइ समितिले प्रष्ट हुन खोजे निर्धारित म्यादभित्र कुनै पनि निर्णय गर्न सकेन । संसदीय समितिमा रहेको नागरिकताको प्रतिलिपिअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अभिलेखमा उनको जन्ममिति २०३७ असोज २४ रहेको पाइएको थियो । समितिले मियाँको शैक्षिक योग्यतामा पनि प्रश्न उठेको थियो ।

अन्सारी सुनुवाइ समितिका उपस्थित भएर स्पष्टीकरण दिएका थिए । उनले आफ्नो जन्ममिति २०३० साल नै रहेको र शैक्षिक योग्यता पनि गलत नरहेको जिकिर गरेका थिए । अन्सारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकता प्रमाणपत्रमा लेखिएको र कार्यालयको अभिलेखमा लेखिएको जन्ममिति फरक परेको थियो । अभिलेखमा उनको उमेर २०३७ साल लेखिएको थियो ।

सुनुवाइ समितिले निर्णय गर्ने म्याद गुज्रेपछि जिल्ला प्रशासन कार्यालयले मानवीय त्रुटिका कारणले नागरिकता प्रमाणपत्र र कार्यालयको अभिलेखमा जन्ममिति फरक परेको जानकारी गराएको थियो ।