मोदी लण्डनमा पक्राउ

लण्डन । भारतीय हीरा कारोबारी निरव मोदी लण्डनमा पक्राउ परेका छन् । पञ्जाव नेशनल बैंकको १३ हजार करोड भारतीय रुपैयाँ घोटालाको आरोपमा उनी पक्राउ परेका हुन् । पञ्जाव बैंक घोटलालालाई भारतकै सबैभन्दा ठूलो बैंक घोटाला मानिन्छ । सन् २०१८ को सुरुवातमा लण्डन गएका उनी त्यसपछि स्वदेश फर्किएका थिएनन् ।

४८ वर्षका मोदी लण्डनको होल्बोर्न इलाकामा मंगलबार पक्राउ परेका हुन् । उनलाई बुधबार अदालत पेश गरिँदैछ । लण्डन प्रहरीका अनुसार भारतको आग्रहमा उनलाई पक्राउ गरिएको हो । भारतले उनलाई सुपुर्दगी गर्न माग गरेको छ ।

मोदीको बैंक घोटालाको चर्चा त्यतिबेला भयो जतिबेला बेलायती एक पत्रिकाले उनले लण्डनमा ८० करोड पाउण्डमा फ्ल्याट किनेको सार्वजनिक ग¥यो । बेलायती पत्रिका टेलिग्राफले मार्चको सुरुमा भारतका मोस्ट वान्टेड मोदी लण्डनमा लुक्दै आएको समाचार प्रकाशन गरेको थियो । त्यसको केही दिनमा बेलायतको गृहमन्त्रालयले मोदीलाई भारतले सुपुर्दगी माग गरेको खुलाएको थियो । वेष्ट मिनिस्टर मेजिस्ट्रेट्स अदालतले मोदीविरुद्ध वारेन्ट जारी गरेपछि उनी फरार थिए ।

मोदी यस्तो समयमा पक्राउ परे जसको भारतमा निकै महŒव छ । किनभने यहाँ आम चुनावको समय छ । यदि लण्डनमा पक्राउ परेका मोदी सफलतापूर्वक सुपुर्दगी गराउन सकेमा सत्तारुढ पार्टीलाई चुनावमा फाइदा पुग्नेछ । चर्चित हीरा कारोबारी निरव मोदी भारतका धनाढ्यमध्य एक हुन् ।

उनको हिराको डिजाइन कम्पनी फायरस्टार डायमण्ड छ । फोब्र्सले उनको सम्पत्ति १.७५ बिलियन डलर रहेको उल्लेख छ । उनको कम्पनीले डिजाइन गरेको गहना संसारका चर्चित मानिसहरूले समेत लगाएका छन् । उनको व्यवसाय भारतबाहिर न्यूयोर्क, लण्डन र हङकङसम्म फैलिएको छ ।