आमाको नाममा नागरिकता

‘आमाको नाममा नागरिकता’ निकै लामो समयदेखि वहस र विवादको विषय बन्दै आएको छ । हाम्रो संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा ‘महिलाको हक’ छ । उपधारा १ मा ‘प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ’ भनिएको छ । ‘वंशीय हक’ अन्तर्गत के के पर्छ भन्ने संविधानले परिभाषित गरेको छैन । आमाको नाममा नागरिकताको सोझो अर्थ हो कुनै व्यक्तिले आमाको मात्रै नाम लेखाएर पनि नागरिकताको प्रमाणपत्र पाउनु । बाबुको पहिचान छैन वा पहिचान खुलाउन चाहँदैन भने त आमाको नाममा नागरिकतामा विवादै नहुनु पर्ने हो ।

धारा ११ को उपधारा २(ख) मा ‘कुनै व्यक्ति जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने’ त्यस्तो व्यक्ति वंशजका आधारमा नेपाली नागरिक ठहर्ने व्यवस्था छ । तर, यही धाराको उपधारा ५ ले उपर्युक्त व्यवस्था खण्डित गर्छ । यस उपधाराअनुसार नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता पाउँछ । फेरि, यस व्यवस्थालाई अर्को वाक्यले खण्डित गर्दै बाबु विदेशी नागरिक ठहरिएमा वंशजको नागरिकता अंगीकृतमा परिणत हुन्छ ।

उपधारा ७ ले पनि वंशजको नागरिक हुने धारा ११ को उपधारा २(ख) को व्यवस्था खण्डित गर्छ । आमा नेपाली नागरिक नै भए पनि बाबु विदेशी रहेछ भने त्यस्तो व्यक्तिले अंगीकृत नागरिकता प्राप्त गर्छ ।

उपर्युक्त व्यवस्थाहरू आमाको नेपाली नागरिकताका आधारमा उनका छोराछोरीले वंशजको नेपाली नागरिकता पाउन अनुदार छन् । संविधानका प्रावधानहरूले घुमाई फिराई बाबुको पहिचानमा जोड दिन्छन् । यसैकारण आमाको नाममा नागरिकता दिने कुरामा अनेक कोणबाट वहस र विवाद भइरहेको हो । नागरिकतासम्बन्धी संसदमा विचाराधीन विधेयकमा बाबुको पहिचान नखुलाए पनि हुने तर पहिचान नखुलेको बेहोरा लेखाउने गरी आमाको नाममा नागरिकता दिने व्यवस्था गर्न सहमति जुटेको छ । सहमतिले पहिचान खुलाउनै पर्नेभन्दा केही सहज बनाए पनि उदार व्यवस्था होइन, महिलालाई पुरुषसहर सम्बोधन गर्दैन ।

व्यक्ति राज्यविहीन हुनु हुँदैन । नागरिकता प्रमाणपत्र ऊ यही देशको नागरिक हो भन्ने प्रमाणका अधारमा पाउने हो । बाबुको पहिचान नहुनु वा कुनै आमाले आफ्ना छोराछोरीको बाबुको पहिचान खुलाउन नचाहनु असामान्य अवस्था हो । यस्तो अवस्थाप्रति छोराछोरी जिम्मेवार हुँदैनन् । यस्तो विशेष अवस्थाको सम्बोधन हुनैपर्छ । आमाकै नाममा नागरिकता नभई नहुने यस्तै छोराछोरीका लागि हो । यसअतिरिक्त कुनै आमा आफ्ना नाममा मात्रै नागरिकता दिलाउन चाहन्छिन् वा छोराछोरी आमाकै नाममा नागरिकता लिन चाहन्छन् भने यसमा कानुन बाधक बन्न आवश्यक छैन । आमाको नाममा नागरिकता दिन सर्वोच्च अदालतको आदेश भइसकेको छ ।

नागरिकता प्रमाणपत्रमा आमा र बाबु दुवैको नाम लेख्ने व्यवस्था भइसकेको छ । पारिवारिक संरचनामा बाबुको पहिचान नहुने हुँदैन । प्रजनन प्राकृतिक गुण हो । विवाह त्यसपछिको संस्था हो । आमाको नाममा नागरिकता लिन चाहनेलाई रोक्नुपर्ने कुनै कारण छैन ।