विप्लवका कार्यकर्ता धमाधम पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लागेसँगै सुरक्षा निगरानी कडा पारिएको छ । यसक्रममा नेकपाका नेता–कार्यकर्ता पक्राउ पर्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँडेको आरोपमा प्रहरीले नेकपाका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । उक्त घटनामा एक जनााको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । सोही समूहले गत फागुन २४ गते काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए । उक्त घटनामा तीन जना घाइते भएका थिए भने गुरुङको गाडी जलेको थियो ।

प्रहरीका अनुसार विक र राईलाई काठमाडौंबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ परेका हुन् । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मंगलबार काभ्रेको काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली चलाएको ढकालले बताए । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल फोन, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको जनाइएको छ ।

त्यसैगरी कपिलवस्तुबाट पनि चार जिल्लास्तरीय नेताहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको छ । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगंगा नगरपालिका श्यमदास पासी र राजमंगल थारू छन् । यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । यी नेताहरूलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरूमा राखिएको बताइएको छ ।

प्रहरी प्रशासनले छापा मार्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका चिनिएका नेता खुला रूपमा देखिन छाडेका छन् । गत शनिबार काठमाडौंबाट पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परेका थिए । हालसम्म पक्राउ पर्नेमा उनी सबैभन्दा उच्च तहका नेता हुन् । हालसम्म देशका विभिन्न ठाउँबाट २० जनाभन्दा बढी पक्राउ परेको जनाइएको छ । यसअघि पक्राउ परेका उच्च नेता खड्गबहादुर विश्वकर्मा अदालतको आदेशले छुटेका थिए ।

विप्लवको नेकपाको गतिविधिमा प्रतिबन्ध घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पार्टीलाई ‘लुटेरा समूह’ भन्दै आएका छन् । विप्लवले सरकारले युद्ध घोषणा गरेको भन्दै प्रतिबन्धको ‘उचित प्रतिकार’ गर्ने चेतावनी दिएका छन् ।

विप्लवको पार्टीले संविधानसभाबाट जारी भएको संविधान अस्वीकार गरेको छ । उसले जनतलाई अधिकारसम्पन्न बनाउन क्रान्ति आवश्यक रहेको भन्दै सैन्य संरचना समेत बनाउन र हतियार संकलन गर्न थालेको छ । चन्दा संकलन तीव्र बनाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले विप्लवका कार्यकर्ताहरूले चन्दाका लागि धम्की दिन थालेको भन्दै गुनासो गर्न थालेका छन् । विप्लवसँगको समस्या समाधान नभए स्थानीय तहहरूलाई काम गर्न कठिनाइ पर्ने उनीहरूको भनाइ छ । सुरक्षा निकायहरूले पनि जबजस्ती चन्दा संकलन गम्भीर समस्याका रूपमा रहेको निष्कार्ष निकालेका छन् ।

प्रतिबन्धबारे विपक्षी दल नेपाली कांग्रेससहित विभिन्न दलले सरकारले वार्ताको सम्भावनातर्फ विचारै नगरी हतारमा प्रतिबन्ध लगाएकोे टिप्पणी गरेका छन् । कांग्रेसले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन र वार्तामा बस्न आहृवान गरेको छ । प्रधानमन्त्री ओलीले भने हिंसा नछाडेसम्म वार्ता नहुने अडान लिएका छन् ।

प्रतिबन्धलगत्तै सरकारले विप्लव नेतृत्वको नेकपालाई लक्षित गरेर सबै अवैध हतियार ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ । प्रधानमन्त्री ओलीले तोकिएको म्यादभित्र हतियार नबुझाए सरकारले आफैँ लिने चेतावनी दिएका छन् ।