बाइडबडी प्रकरण छानबिनमा देउवालाई शंका, ‘सरकार कामविनाको प्रचारमुखी’

जनकपुरधाम । मुख्य विपक्षी दल नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले सरकारले वाइडबडी खरिद प्रकरणको छानबिन गर्न नचाहेको र भ्रष्टाचार लुकाउन खोजेको आरोप लगाएका छन् । उनले वाइडबडी जहाज खरिद प्रकरणको वास्तविकता जनसमक्ष आउनुपर्ने बताए ।

कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन धनुषाले आइतबार धनुषाधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी नेता देउवाले वाइडबडी खरिद प्रकरणको विश्वसनीय छानबिन हुनुपर्नेमा जोड दिए । उनले छानबिन भएर तथ्य बाहिर आउनेमा भने शंका प्रकट गरे ।

वाइडबडी जहाज खरिदमा भएको भनिएको अनियमिततामा देउवाकै नाम जोडिएको विषयमा सोधिएको एक प्रश्नमा उनले छानबिन गरेर आफूलाई दोषी देखाउन चुनौती दिए । खरिद प्रक्रियाको कुनै एक समय तालुकवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय देउवाले नै सहृमालेको विषयमा राखिएको जिज्ञासामा आफूले एकैपटक १९ वटा मन्त्रालय सहृमालेकाले सबैको एक–एक विवरण आफूसँग नभएको पनि बताए ।

नेपाल एअरलाइन्सले दुईवटा वाइडबडी जहाज खरिद खर्दा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले भ्रष्टाचार भएको ठहरसहित प्रतिवेदन बुझाएको थियो । समितिले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको थियो ।

विपक्षी नेता देउवाले उच्चस्तरीय छानबिन समिति गठन गर्न संसद्मा माग गरेका थिए । सरकारले पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठन गरेको भए पनि त्यसले काम गरेन ।

वर्तमान सरकारप्रति टिप्पणी गर्दै देउवाले सरकार कामभन्दा बढी प्रचारमुखी भएको आरोप लगाए । उनले एक वर्षमा सरकारले प्रचार गर्न लायक कुनै पनि काम नगरेको बताए । उनले सरकार संघीयता नै कमजोर बनाउने ढंगले अघि बढेको आरोप लगाउँदै मुलुक अब संघीय प्रणालीबाट पछि हट्न नसक्ने बताए ।

देउवाले सरकारले स्वतन्त्र प्रेसमा अंकुश लगाएर नियन्त्रण गर्न खोजेको आरोप पनि लगाए । उनले प्रेस स्वतन्त्रता कुण्ठित भए लोकतान्त्रिक गणतन्त्र कमजोर हुने बताए । उनले लोकतन्त्र सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको र फेसबुक, ट्विटरलगायत सञ्जाल वाक् स्वतन्त्रताका लागि समयानुकूल माध्यम भएको बताए । उनले सरकारले सूचनाको हक र वाक् स्वतन्त्रता हनन् गर्न खोजे कांग्रेसले सशक्त प्रतिवाद गर्ने बताए । उनले कुनै पनि वहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुनेमा जोड दिए ।

देउवाले कांग्रे्रसले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबी पनि गरे ।

प्रदेश २ को नाम र राजधानीका विषयमा सोधिएको एक प्रश्नमा देउवाले जनकपुरधामलाई नै राजधानी बनाउन उपयुक्त हुने र नाम मिथिला वा मिथिला–भोजपुरा हुन सक्ने बताए । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सबै दृष्टिले जनकपुर नै राजधानी हुनसक्ने देउवाको भनाइ थियो । हाल जनकपुर अस्थायी मुकामका रूपमा रहेको छ । प्रदेशसभाले राजधानी सम्बन्धी निर्णय गर्न सकेको छैन । वीरगन्जमा पनि राजधानी माग हुँदै आएको छ ।

देउवाले मैथिली विकास कोष जनकपुरधामको आयोजनामा शनिबार सुरु भएको ६ दिवसीय जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवको आइतबार उद्घाटन गरे । सो अवसरमा उनले मैथिली उत्कृष्ट, विकसित र सभ्य भाषा रहेको बताए । उनले नेपालमा नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषालाई नेपालको दोस्रो भाषाका रूपमा विकास गर्न सकिने पनि बताए । उनले मैथिलीलाई दोस्रो भाषाका रूपमा संवैधानिक मान्यता दिन आफ्नो पार्टीले पहल गर्ने पनि बताए ।

देउवाले संघीय प्रणालीप्रति वर्तमान सरकारको प्रतिबद्धतामा शंका प्रकट गर्दै संघीयता मुलुकको आवश्यकता भइसकेको र कसैले पनि समाप्त पार्न नसक्ने बताए । कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि प्रदेश २ को नाम मिथिला–भोजपुरा र भाषा मैथिली हुन सक्ने बताए ।

जनकपुर साहित्य कला एवं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा साहित्य संरक्षणमा चुनौती, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण लगायत विषयमा छलफल हुने जनाइएको छ । प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे पनि विज्ञहरूबीच छलफल हुने छ ।

महोत्सवका अवसरमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्ने कार्यक्रम छ ।