काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्माण, लोकतान्त्रिक सङ्घर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता तथा पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई गुमाउनुपर्दा मर्माहत भएको बताएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीबेरअघि संयुक्तरूपमा शोक वक्तव्य जारी गरेर स्वर्गीय अधिकारीले मुलुकको परिवर्तन र रूपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गरे ।
दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुले नेता अधिकारीकी जीवनसँगिनी सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायत परिवारका सदस्यहरू र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरे ।
विसं २०४७ मा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता गरी नेकपा (एमाले) निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता अधिकारी २०७१ मा पार्टीको सक्रिय राजनीतिबाट बिदा नलिँदासम्म स्थायी कमिटी सदस्य थिए । पार्टीमा रहँदा उनले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय कमिटी जस्ता पार्टी कामको नेतृत्व गरेको अध्यक्षद्वयले स्मरण गरे ।
“सबैसँग मिलेर काम गर्नसक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका नेता अधिकारीले राजकीय क्षेत्रमा निर्वाह गरेको भूमिका महत्वपूर्ण छ, २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा मोरङ–२ बाट प्रतिनिधिसभा सदस्य निर्वा्चित उनी २०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य हुनुभएको, संसद्भित्र उहाँले अनुभवी सांसदका रूपमा काम गर्नुका साथै पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो,” अध्यक्ष ओली र प्रचण्डले वक्तव्यमा भने ।
अध्यक्षद्वयले २०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रूपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर जनविश्वास हासिल गर्नमा उनले निर्वाह गरेको भूमिका जनस्तरमै स्थापित रहेको तथा २०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहेका उनले २०६३ मा अन्तरिम संविधान र २०७२ मा संविधानसभाबाट नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेको बताए ।
विसं १९९३ वैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिएका अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न÷जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराएका थिए ।
सोह्र वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनले २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गरेका थिए भने २०१९ सालमा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन भएका थिए । कम्युनिस्ट आन्दोलनलाई जोगाउन र अघि बढाउन सक्रियतापूर्वक लागेका उनले पूर्व कोशी प्रान्तीय कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै २०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्यको जिम्मेवारी सम्हालेका थिए । विसं२०३५ मा मनमोहन अधिकारीको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरोमा रहेका उनी ०४३ मा साहना प्रधानले नेतृत्व गरेको नेकपा (पुष्पलाल समूह) सँग एकतापछि निर्मित नेकपा (माक्र्सवादी) को पनि पोलिट्ब्युरो सदस्य भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्यका रूपमा उनले जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेक थिए ।रासस


















