गरिमा हराएको लोकतन्त्र

सुरुमा बेलायताको एउटा घटनाको चर्चा गरौँ–  एउटा सिपाही रातभरि मन्त्रीको घरको गस्ती गथ्र्यो । उसको बुटको आवाजले मन्त्राणी सुत्न सक्दिनथिन् । सुत्नै नसक्ने भएपछि मन्त्राणीले मन्त्रीलाई कुरा लगाइन् । मन्त्रीले सिपाहीलाई गाली गरे । मेरो काम गस्ती गर्नु हो भन्ने जवाफ दियो सिपाहीले, मन्त्रीले फेरि पनि गाली गरे । त्यसपछि सिपाहीले कुम्लो कुटुरो बाँध्न थाल्यो, उसले आफ्नो जागिर सकियो भन्ने सोचेको थियो । अकस्मात उसको बढुवाको चिठी आयो, स्यावासी पनि आयो । सिपाही छक्क परेर आफ्नो गस्तीको ड्यूटीमा लागिप¥यो ।

२०६३ सालअघि नेपालमा निरंकूशता थियो, असमानता र विकृति थियो । सफा नेपाल, नयाँ नेपाल बनाउने जिम्मा लिएका नेता १३ वर्षपछि पालैपालो सत्तामा छन् । तिनले देशको गस्ती गरे कि गरेनन्, तिनले जनताको जनजीविकाको गस्ती गरे कि गरेनन्, सार्वभौमिका, स्वाधीनता, नेपालित्वको गस्ती गरे कि गरेनन् ? नेताहरूप्रति जनताको तिक्तता देख्दा के भन्न सकिन्छ भने यी राजनीतिक सिपाही त बने तर लोकको सिपाही भने बन्न सकेनन् । भौतिक सम्पत्ति खुब जोडे, आरामको जीवन बाँचिरहेका छन् । जनमैत्री, विकासमैत्री, अग्रगमनमैत्री बन्न भने सकेनन् । सत्ता पाएर सराप कोही बन्यो भने ती नेपालका नेता बने ।

सेक्सपियरले लेखेका छन्– सौन्दर्यले स्त्री अभिमानी बन्छिन्, उत्तम गुणले स्त्रीको प्रशंसा हुन्छ तर लज्जाले स्त्री देवी बन्छिन् । दुर्गुणहरूको जड काम, क्रोध, लोभ, मोह हो, असल मान्छेले ती त्याग्नुपर्छ । गीतको यो ज्ञान नेपाली राजनीतिका रथी महारथीले कहिल्यै पनि त्याग्न सकेनन्, महको झिँगा बनिरहे । ठूला माछाले साना माछा खान्छन्, गलत राजनीतिले नेपाल खाइरहेछ । जसले अँगार खान्छ, उसैले कालो ओकल्छ, नेपाली राजनीतिको वर्तमान कालखण्डले अँगार बान्ता गरिरहेको छ ।

यतिबेला लोकतन्त्र भन्नासाथ आमनागरिकले नाक खुम्च्याउन थालेका छन् । किन ? जनआन्दोलन गरेर ल्याएको लोकतन्त्रप्रति लोकले नाक खुम्च्याउनुपर्ने स्थिति कसरी आयो ? जिम्मेवारी चरित्र नदेखिँदा, लोक नेताहरूले लोकादेशको पालना नगर्दा र गलत काम गरिरहेकाले लोकतन्त्र अलोकप्रिय हुँदै गएको हो । लोकप्रिय त अहिले राजतन्त्र पो देखिँदैछ । पूर्वराजा जता गयो उतै जिन्दावाद, उतै जयजयकार । छुनुकमुनुक गर्ने नेताहरू सुरक्षाकर्मीको घेराबन्दीमा रहनुपर्छ । यो बेहाल देख्दा लाग्छ– लोकतन्त्र कसरी लोकप्रिय भएछ ¤

लोकगुण नै नभएको गणतन्त्र हुन्छ ? स्वत्व नभएको सत्य र गुणविहीन गणतन्त्रको कुनै अर्थ छैन । सुन सुनजस्तै हुनुपर्छ, जति आगोमा पोले पनि सुन सुन नै हुन्छ । २०६३ सालको परिवर्तनले ल्याएको गणतन्त्र भ्रष्टाचार र नेताहरूको सिन्डिकेटतन्त्रमा परिणत भयो । केही पार्टी र केही नेता तथा तिनका वरिपरि भुनभुनाउनेहरूलाई आउनुसम्म लोकतन्त्र आएको छ ।

लोकतन्त्रका असली हकदार, निर्णायक शक्ति लोक न सिंहदरबारमा छन्, न शितल निवास वा संसदमा । शक्तिकेन्द्रहरूमा त व्यापारीमात्र देखिन्छन् । लोक सडकमा डाहा र छटपटीमा थाल खाऊँ कि भात खाऊँ गरेर बाँचेका छन्, लोकप्रति जिम्मेवार हुनुपर्नेहरू स्वार्थको पोखरीमा पौडी खेलिरहेका देखिन्छन् । गणतन्त्र गणलाई होइन, राजनीतिक व्यापारीहरूलाई पो चाहिएको रहेछ ।

गणतन्त्रमा हुनैपर्ने गुण लोकाचार हो । लोकाचारविहीन चरित्रहीन राजनीतिक परिदृश्यले बाहुबलीतन्त्र विकसित गरिरहेको छ । कसले रोक्छ हेरौँ त भन्ने जुन बेहालत छ, राष्ट्र अरू आतंकपूर्ण र अत्यासलाग्दो बन्दैछ । कानुन व्यवस्था चरमराएको छ, अनुशासनहीनता बढेको छ, विकृति र विसंगति महामारी बन्दैछ । रुखमा ऐँजेरु, फलाममा खिया र व्यवस्थामा यस्तै विकारले विषको काम गर्छ । लोकतन्त्रका लागि लोकतान्त्रिक भनिएका नेताहरू नै विषालु भएपछि लोकतन्त्र खोकतन्त्रमा सीमित बन्न पुग्यो । जे छ भाषण र आश्वासनमात्र छ ।

खोकतन्त्र अर्थात् सपनातन्त्र । दण्डित हुनुपर्ने पुरस्कृत भइरहेका छन् । जेल हाल्नुपर्नेहरू शासन प्रशासनमा हैकम चलाइरहेका छन् । विधिको शासन हावा खुस्केको अवस्थामा पुगिसक्यो । ठूला पार्टीको स्वार्थ मिलेपछि त्यही कानुन, त्यही संविधान, त्यही समानुपातिक, त्यही विधिको शासन । लोकतन्त्र भनेको यस्तै मनलागीतन्त्र हो ? यो त १०४ वर्षको जहाँनिया शासनभन्दा पनि गैवार शासन भएन र ?

असली कुरो के हो भने जनआन्दोलनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता मागेकै थिएन । यी सब माओवादी एजेण्डा हुन्, जुन एजेण्डामा माओवादीले सबैलाई थाङ्नामा सुताइदियो । समाजवाद कौवालाई बेल पाकेजस्तो हुनपुग्यो । निरंकूशता हटाउने म्याण्डेट लिएर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता ल्याइयो, यतिबेला यी राष्ट्रको गलगाँड बन्न पुगेका छन् । झिकिदेऊ गाँड भन्दा थपिदेऊ गाँड भएको छ ।

माओवादीले लादेको भारी बोक्न देश र जनता बाध्य भएका छन् । यी मुद्दाहरूसँगै जाति, क्षेत्रीयता, भाषा, भेगका समस्या सिङ उम्रिएझैैँ उम्रिएका छन् । यो विष वृक्षले राष्ट्र नै पक्षाघात त परिसक्यो, राष्ट्रको स्वत्व र अस्तित्व नै समाप्त पार्ने हो कि भन्ने खतरा बढ्न लागेको अनुभूति हुन थालिसकेको छ ।

राष्ट्रिय मुद्दामा जुनसुकै मुलुकले जनमत संग्रह गर्ने गर्छन् । नेपालमात्र त्यस्तो मुलुक हो जहाँ जनआन्दोलन सफल पारिएको भरमा राजनीतिक मुद्दालाई नेताहरूले आफूखुशी सम्बोधन गरे । नेताले गरेको परिवर्तन जनताले अपनत्व ग्रहण नगर्नुको मूल कारण त्यही हो । विदेशी शक्तिका आडमा नेताहरूले फटाफट परिवर्तन गर्दै गए, केही नेताको सहमतिलाई राष्ट्रिय सहमति भन्दै गए । अन्ततोगत्वा असफल भए, राष्ट्र अन्योल र अराजकताबाट मुक्त हुनसकेन । देशको मेरुदण्ड आर्थिक अवस्था जरजर बनिसक्यो ।

नेपालीत्व कहाँ छ ? शासन, प्रशासन र राजनीति दुवै भ्रष्टाचारमय बनेको छ । सुरक्षा निकायसमेत अछूत रहेन । नेपाल असफलताको भीरमा पुगिसक्यो । नेताहरूमा अझै पनि सुधारिने चेतना आएको छैन । स्वार्थलम्पटहरू कसरी भैँसीको घाँटीमा किर्ना टाँसिएझैँ सत्ता, शक्ति र सम्पत्तिमा टाँसिनसक्ने रहेछन् ? लोकतन्त्र लोकका लागि निल्नु न ओकल्नु बनेको छ ।

लोकको आँखामा आँसु, मुहारमा पीडा, राज्यको व्यवहारमा असमानता, दण्डहीनता र न्यायविहीनताको स्थिति छ । साँचो भन्ने हो भने मुलुक छानोविहीन, अभिभावकविहीन भएको छ । लोकतन्त्रको साइनबोर्ड झुण्ड्याइएको नेपाल भद्रगोल स्थितिमा पुगिसक्यो । सुधार्ने, व्यवस्थित पार्ने ल्याकत र ताकत कुनै नेता वा पार्टीमा देखिँदैन ।

नेपालमा कुनै राजनेतै छैनन् । राजनेता जन्म नै सकेनन् । किनकि नेतृत्व विकास भएकै रहेनछ । यहाँ त भ्रष्टाचार र अनियमिताको विकास पो भइरहेको छ । सिस्नो रोपेपछि कसरी सुन्तला फल्थ्यो र ? लोकतन्त्रका नाममा भागशान्ति जयनेपाल गर्न पल्केका नेताले आफूलाई राजनेताका लागि तयारै गरेनन् । अलिकति पनि त्याग गर्न कुनै नेता तयार छैनन् । सबै स्वार्थका पुतला बनेका छन् । पुतला अर्थात् बुँख्याँचा, बँुख्याँचामा न जीवन हुन्छ, न जीवन्त नै । निर्जीवहरूले चलाएको राजनीति यही कारण असफल भयो । यस्तो गणतन्त्र के गणतन्त्र ?

राजतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा छिटै गम्भीर छलफल गरेर निकास निकाल्न सकिएन भने पार्टी नेता, कार्यकर्ता पाल्ने र अनावश्यक खर्चमात्र बढाउने यो पद्धति असफल हुने निश्चित छ । एकवर्ष सरकार चलाएर पनि सरकारले कुन राम्रो काम ग¥यो देखाउन सकेन ।

अब सरकार पुनर्गठनको होमवर्क पो सुरु भएछ । काशी जानु कुतीको बाटो भनेको यही हो । काम गर्न नसक्ने र कुशासन बढाउने मन्त्री वा जिम्मेवारहरूलाई दण्ड दिन सक्नुपथ्र्यो, आफ्नो अनुहार नहेर्ने, मन्त्री फेर्ने । गलत आचरण फेर्न नसकेपछि फेरि पनि उही चालामाला देखिने न हो । एकथरि टन्न परेर हट्ने, अरू भोकाहरू आउने । देश र जनताको हालत कसरी सुध्रिन्छ, सुशासन र समृद्धि कसरी आउँछ ?

बिजुली बस उद्घाटनमा सीमित भयो, हावाबाट बिजुली कता आयो कता, पानी जहाजको कार्यालय खुल्यो बन्द भयो, भान्सासम्म ग्यासका पाइप हावादारी भयो । मेलम्चीको पानी कहिले आउँछ कहिले, भ्रष्टाचार गर्नेले गर्नुसम्म गरे । अब कुनै नेपालीले भोकै बस्नुपर्दैन, बेरोजगारलाई भत्ता भनेर नयाँ चटक ओलीले नै देखाएका हुन् । आश्वासनको एकवर्षे ओली शासन, देश र जनताका लागि शासनमात्र भयो । दुई तिहाइको सरकारको नतिजा शून्य देखिएको छ । सरकार परिवर्तन होइन, रोग क्रोनिक भइसक्यो, सर्जरीको आवश्यकता छ । मुख चलाउनेहरूले नैतिकतासहितको नीति चलाउन सकेनन् ।

विश्वमा सुन्दर र सफल लोकतन्त्र निष्ठाहीनहरूका कारण खोटाहरूले खोस्टा बनाइदिए । आफू सुध्रिने र देश सपार्ने अन्तिम मौका यही हो । अहिले नसोचे कहिले सोच्ने ¤ अहिले नगरे कहिले गर्ने ¤ नेताहरूले लोकतन्त्रको गरिमा र महिमा अहिले नबुझे कहिले बुझ्ने ¤ कतै नेताहरू अर्को राजनीतिक भूकम्पको प्रतीक्षा त गरिरहेका छैनन् ?