काठमाडौं । संसदीय सुनुवाइ समितिको मंगलबार बोलाइएको बैठक स्थगित भएको छ । सत्तारुढ दलकै सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । संवैधानिक परिषद्बाट विभिन्न आयोगमा अध्यक्ष नियुक्तिका लागि भएको सिरफारिसमा सुनुवाइ भइरहेकोमा दुई पटक बैठक स्थगित भएको छ । समावेशी आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षको सुनुवाइ भइसकेको छ । मंगलबार थारु र मधेसी आयोगको अध्यक्षको सुनुवाइ गर्ने कार्यसूची थियो । यही कार्यसूचीमा आइतबार बोलाइएको बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको थियो ।
सुनुवाइ समिति १५ सदस्य छ जसमा सत्तापक्षकै ११ जना छन् । मुख्य विपक्षी दल नेपाली कांग्रेसका चारजनाले आयोगका अध्यक्षहरू सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय प्रक्रियामा असमति जनाएर बैठक बहिष्कार गर्दै आएका छन् । संवैधानिक परिषद्ले विपक्षी दलका नेताको अनुपस्थितिमै निर्णय गरेको थियो । उक्त निर्णय नच्याएसम्म सुनुवाइमा भाग नलिने कांग्रेसको अडान छ । गणपूरक संख्याका लागि आठजना सदस्यको उपस्थिति अनिवार्य हुन्छ ।


















