काठमाडौं । नेकपाको पछिल्लो कार्यदल विघटन, अब सांगठनिक एकताको प्रस्ताव सचिवालयले तयार पार्ने
काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि गठित शक्तिशाली कार्यदल विघटन गरिएको छ ।
आज प्रधानमन्त्री निवास, बालुबाटारमा बसेको नेकपा सचिवालय बैठकले सो कार्यदलको म्याद थप्न नसकिने निर्णय गरेसँगै कार्यदल विघटन भएको हो ।
अब सांगठनिक एकता प्रक्रियाको प्रस्ताव नेकपाका शीर्ष नेताहरु सम्मिलित सचिवालयले गर्ने र सो प्रस्ताव स्थायी कमिटीमा पेश गर्ने बताइएको छ ।
कार्यदलमा सम्मिलित नेकपाका नेताहरुले कार्यदलको म्याद एक साता थप्न माग गरे पनि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।
बिहीबार कार्यदलका संयोजक र सदस्यसहित बालुवाटारमा बसेको सचिवालय बैठकमा विभिन्न कारणले काम गर्न नसकिएको भन्दै एक साताको समय मागिएको थियो ।
तल्ला कमिटी एकता गर्न नेकपाले गत पुस १२ गते ९ सदस्यीय कार्यदल बनाएको थियो । सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदललाइ १५ दिनको समयसीमा तोकेर संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने कार्यादेश दिइएको भए पनि पूरा गर्न नसक्दा एकता प्रक्रियामा ढिलाइ हुँदै आएको छ ।



















