काठमाडौं । रूपन्देहीकी २२ वर्षीया एक युवती आमाको नामबाट नागरिकता लिन चाहन्छिन् । उनका बुबा पनि छन् तर अर्की श्रीमतीका साथ बस्छन् । यही कारणले उनी आमाकै नामबाट नागरिकता लिन चाहन्छिन् तर पाएकी छैनन् । नागरिकता नभएर आइपरेको कठिनाइ त छँदैछ ।
‘उनी भन्छिन्, ‘बाबु चाहिने बेलामा वास्ता नगरेपछि अहिले नागरिकतामा मैले किन उनको नाम राख्ने ? म आमाकै मिहिनेत र साहसले हुर्किएँ, बढेँ, पढेँ । सबै कुराबाट सक्षम छु । मलाई नागरिकतामा बुवाको होइन, आमाको पहिचान चाहिन्छ ।’ उनी सरकारी जागिर खान चाहन्छिन् तर नागरिकता नहुँदा प्रतिस्पर्धा नै गर्न पाएकी छैनन् ।
रामपुरका २४ वर्षीय युवक पनि आमाकै नामबाट नागरिकता लिन चाहन्छन् । उनका पनि बुबाले अर्की श्रीमती ल्याए । आमाबुबाको सम्बन्ध टुट्यो । केही वर्षपछि बाबुको निधन भयो । उनका बाबुले आमाको पनि नागरिकता बनाइदिएनन् । उनले भने, ‘वडाले आमाको नागरिकता बनाउन बिहे दर्ता चाहिन्छ भनेको छ, मामाघरबाट पनि नागरिकता बनाउन सहयोग छैन ।’ युवक आमाकै नामबाट आफ्नो नागरिकता बनाउन चाहन्छन् तर आमाकै छैन ।
अर्का एक युवकको अवस्था झन् मार्मिक छ । उनकी आमाको भागी बिहे भयो एकजना सैनिकसँग । एक वर्ष सैनिकको जागिर सरुवा भयो । आमालाई लिन आउँछु भनेर गएका सैनिक बुबा कहिल्यै फर्केनन् । यस्तो घटनाले उनले आमाबाट थाहा पाए । युवक आमाकै नामबाट नागरिकता बनाउन चाहन्छन् । आमाबुबाको बिहे दर्ता छैन । युवकको नागरिकता बनेको छैन । युवकले समाज र आफन्तबाटै अपहेलित हुनुपरेको छ । उनी आफूलाई जन्माएर, हुर्काएर पढाउने आमाकै नामबाट नागरिकता लिन चाहन्छन् ।
चितवनकी एक युवती काम गरेर केही पैसा कमाउँछिन् । आफ्नो कमाइ बैंकमा बचत गर्न चाहन्छिन् तर नागरिकता नहुँदा खाता खोल्न सकेकी छैनन् । उनकी आमाको पहिलो बिहे असफल भयो । दोस्रो बिहे गरिन् । उनी दोस्रो बिहेबाट जन्मिन् तर सानैमा बाबु बिते । यस्तो कुरा उनले आमाबाट थाहा पाइन् । बाबुबारे केही थाहा छैन । आमाको नामबाट उनको नागरिकता बनेको छैन ।
अर्की युवती सानै छँदा उनकी आमाको मृत्यु भयो । उनी दश वर्षकी हुँदा बाबु पनि बिते । केही वर्षपछि मामा नाताको एकजनाले सहारा दिने निहुँमा बलात्कार ग¥यो । एउटा संस्थाले उलाई आश्रय दियो । छोरी जन्मिई । उनी छोरीलाई बाबु चिनाउन चाहन्नन् । छोरीको नागरिकता बनाउने बेला भयो तर बन्न सकेको छैन ।
यी पीडितहरू बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भेटिएका हुन् । उनीहरूले आफ्नो पीडा सुनाए तर सञ्चारमाध्यममा नाम नखुलाइदिन आग्रह गरे ।
महिला, कानुन र विकास मञ्च ‘एफडब्लुएलडी’ ले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाबाट संकलन गरेको तथ्यांकअनुसार ९ लाख बालबालिका आमासँग मात्रै बस्छन् । यसैगरी, ६६ हजार बालबालिका बाबुसँग बस्छन् ।



















