काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले तिम्रो गीत मन पराएनौं भनेपछि पशुपति शर्माले उक्त गीत युट्युबबाट हटाएको बताएका छन् ।
बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’
प्रमुख विपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले संसदमै शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरेको विषयमा प्रधानमन्त्रीले सिंहप्रति कटाक्ष गरेका छन् । सिंहको नाम नलिइ उनले एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको सुनाए । उनले हाँस्दै भने, ‘अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौं हामी ।’
‘भावनामा बगेर एउटा गीत लेखे, युट्युबमा पनि हाले तर, सबैले राम्रो गरेनौं भाइ भनेपछि हटायो त सिध्यियो नि कुरा’, प्रधानमन्त्री ओलीले भने ।


















