अत्तरिया र काठमाडौं पुनः भिड्दै

धनगढी । सिवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गरेको दोस्रो दिन नै बुधबार पुनः दुवै टोली पहिलो क्वालिफायरमा भिड्दैछन् । रुस्लान धनगढी प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो खेलको विजेता फाइनलमा प्रवेश गर्ने पहिलो टोली बन्नेछ ।

मंगलबार लिगचरणको खेलहरू सम्पन्न भएसँगै ८ अंकसहित शीर्ष स्थानमा रहेको सिवाइसी अत्तरियाले ७ अंकसहित दोस्रो स्थानमा रहेको काठमाडौंसँगको भेट पहिलो क्वालिफायरमा पक्का गरेको हो । काठमाडौं भने यसअघि नै क्वालिफायरमा प्रवेश गरिसकेको थियो ।

बुधबार हुने पहिलो क्वालिफायरमा पराजित टोली भने इलिमिनेटरको विजेता टोलीसँग खेल्नेछ । ६ अंकसहित तेस्रोमा रहेको रूपन्देही र ४ अंकसहित चौथोमा रहेको महेन्द्रनगरले इलिमिनेटर खेल्नेछन् ।

लिग चरणको अन्तिम खेलमो उपाधि दाबेदार टोली काठमाडौं गोल्डेन्समाथि सिवाइसी अत्तरियाले सहज जित निकालेको थियो । काठमाडौंले दिएको ७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो । उसका जयकिशन कोल्सावालाले ३२, दीपेन्द्रसिंह ऐरीले २० र प्रेम तामाङले १० रन जोडेका थिए ।

त्यसअघि टस टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७५ रन बनाएको थियो । काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन जोडे । ४९ बल खेलेका उनले २ चौका प्रहार गरे । यस्तै योगेन्द्रसिंह कार्कीले १३ र अंकित दबासले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । अत्तरियाका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । २ ओभरमा दीपेन्द्रले ४ रनमात्रै खर्चे ।

काठमाडौंको सुरुवात निकै सुस्त थियो । उसले पावर प्लेको ६ ओभरमा २ विकेट गुमाएर ८ रनमात्रै जोड्न सकेको थियो । दोस्रो ओभरमा भुवन कार्कीले अनिलकुमार साह (५) लाई विकेटकिपर जयकिशन कोल्सावालाको हातबाट क्याच गराएका थिए । तेस्रो ओभरमा सन्नी पटेलले अर्का ओपनर गौरव तमोरलाई पनि एक रनमै पवेलियन फर्काइदिए । ओपनरद्वय पवेलियन फर्किएपछि कप्तान ज्ञानेन्द्र मल्लले अंकित दबाससँग सम्हालेर खेल्ने प्रयास गरेपछि रन स्कोर बढाउन सकेनन् । ११ ओभर सकिदा काठमाडौंको जम्मा २८ रन थियो ।

पन्ध्रौ ओभरमा भुवन कार्कीलाई योगेन्द्रसिंह कार्कीले एक चौका र एक छक्का प्रहार गरेपछि टोलीले ५० रनको स्कोर कटाएको थियो । अर्को ओभरमा योगेन्द्र र सत्रौं ओभरमा ज्ञानेन्द्र पनि रनआउट भएपछि काठमाडौं सो स्कोरमा खुम्चिएको थियो ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।