काठमाडौं । चलचित्र ‘जानी नजानी’ को चरित्रबारे जानकारी गराउने उद्देश्यले ‘क्यारेक्टर पोस्टर’ सार्वजानिक गरिएको छ । आउँदो चैत १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका अभिनेता मनिष श्रेष्ठ, अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता सन्नी सिंहसँगै डेब्यु अभिनेत्री निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याउने पोष्टर सार्वजनिक गरिएको हो ।
चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी रहेको चलचित्र यी चारकै वरपर घुमेको छ । निर्माण टिमले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । चलचित्रमा यी चरित्रहरू ढाकासँग जोडिएकाले पोस्टरमा नामसँग ढाकालाई महŒव दिइएको यसका निर्देशक वसन्त अधिकारीले बताएका छन् । फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय छ । आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । जसमा छायांकन सञ्जय लामाको, संगीत अर्जुन पोखरेलको, कोरियोग्राफी कविराज गहतराज, प्रवीन सिंह र शिशिर खातीको, सम्पादन अर्जुन जिसीको छ ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण छ । जानी नजानी मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘फिल्मले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’, केसीले भनिन्, ‘फिल्म मेकिङमा कुनै सम्झौता गरेका छैनौं ।’ निर्माता केसीले यसअघि डाक्टर खाते चलचित्र निर्माण गरिसकेकी छन् ।

















