ललितपुर । सरकारले आजबाट पानी जहाज कार्यालय स्थापना गरेको छ। प्रधानमन्त्री केपी ओलीले आज ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।
एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतमा रहनेछ ।
उद्धाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने बताए ।
‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’
भारतले गण्डकी नदीमा डीपीआर बनाइसकेको जानकारी आफूले पाएको उनले जानकारी पनि दिए ।
सरकारले आजबाट पानीजाहज कार्यालय स्थापना गरेर पानी जाहाजको विषयमा सरकार सकृय छ भन्ने सन्देश दिएको छ ।


















