नेविसंघ केन्द्रीय समिति भंग

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय कार्यसमिति भंग गर्दै अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुअघि गरेका मनोनयन खारेज गरेको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महरले राजीनामा दिनुभन्दा अघि विभिन्न पदका लागि गरिएका मनोनयन खारेज गर्ने निर्णय गरेको हो ।
सोमबार नेविसंघको अध्यक्ष पदबाट राजीनामा दिनुअघि महरले पछिल्लो मिति उल्लेख गरेर केही विद्यार्थी नेतालाई जिल्ला, क्याम्पस तथा केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका थिए । ‘बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय पनि गरेको छ,’ केन्द्रीय कार्यसमिति बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
बैठकले नेविसंघको सभापति पदमा रही गरेको कार्यका लागि महर र समयावधि समाप्त भइसकेको केन्द्रीय कार्यसमितिलाई धन्यवाद दिएको छ । योसँगै महर नेतृत्वको नेविसंघको केन्द्रीय कार्यसमिति मंगलबारबाट विधिवत रूपमा विघटन भएको छ ।
मंगलबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।