नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिक उत्सवलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने तयारी अघि बढाइएको छ।
आइतबार, १६ अगस्ट २०२६ मा सचिवालय बैठकका लागि आह्वान गरिएको भए पनि सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति हुन नसकेपछि शाखाका अध्यक्ष बिक्रम वाईबा तामाङ र महासचिव सविन कुमार लोप्चनको उपस्थितिमा आवश्यक विषयमा छलफल गरी अधिवेशन तथा कार्यक्रमसम्बन्धी विभिन्न निर्णय गरिएको हो।
बैठकले आगामी कार्यक्रम होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा नेपाली राजदूतावास, मलेसियाका महामहिम राजदूतज्यूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय गरिएको छ।
शाखाको पाँचौँ अधिवेशन १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तय भएको छ। अधिवेशनलाई निष्पक्ष, व्यवस्थित तथा मर्यादित रूपमा सम्पन्न गर्न नेपाल तामाङ घेदुङ संघीय परिषद् सदस्य पासाङ लामाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिका सदस्यमा राजु योन्जन तामाङ र बिक्रम वाईबा तामाङ रहेका छन्।
आगामी अधिवेशनलाई पारदर्शी, मर्यादित तथा व्यवस्थित रूपमा सम्पन्न गर्दै संस्थालाई थप सुदृढ बनाउने उद्देश्यले तयारी अघि बढाइएको अध्यक्ष बिक्रम वाईबा तामाङले जानकारी दिनुभयो।
त्यस्तै, अधिवेशनको निर्वाचन समिति संयोजक तथा नेपाल तामाङ घेदुङ संघीय परिषद् सदस्य पासाङ लामाले पनि अधिवेशनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइने जानकारी दिनुभयो।
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले अधिवेशन तथा २१औँ वार्षिक उत्सवमा मलेसियामा रहेका सम्पूर्ण तामाङ समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ।




















