काठमाडौं:= वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमूखीकरण तालिमलाई थप प्रभावकारी, व्यवहारिक तथा समयसापेक्ष बनाउने उद्देश्यसहित मन्त्रालयस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आज मिति २०८३ साल जेठ ६ गते युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको समुपस्थितिमा आयोजित कार्यक्रममा सम्बन्धित सरकारी निकाय, वैदेशिक रोजगार क्षेत्रसँग आबद्ध सरोकारवाला संस्था तथा तालिम प्रदायक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई गन्तव्य मुलुकको कानुन, श्रम अधिकार, सुरक्षा, संस्कृति, भाषा, स्वास्थ्य तथा आपतकालीन अवस्थासम्बन्धी जानकारी प्रभावकारी रूपमा प्रदान गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

छलफलका क्रममा सहभागीहरूले हाल सञ्चालन भइरहेको अभिमूखीकरण तालिमलाई अझ व्यावहारिक र श्रमिकमैत्री बनाउन सुझाव दिएका थिए। साथै श्रमिक ठगी, मानव बेचबिखन तथा वैदेशिक रोजगारीका क्रममा देखिने विभिन्न समस्यालाई न्यूनीकरण गर्न अभिमूखीकरण तालिमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरिएको थियो।
मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले आवश्यक नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको बताउनुभयो। उहाँले श्रमिकको हकहित र सुरक्षालाई केन्द्रमा राखेर अभिमूखीकरण प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।




















