क्वालालम्पुर (मलेसिया):= स्थानीयले गरेको सार्वजनिक उजुरी र दुई हप्तासम्मको निगरानीपछि मलेसियन अध्यागमन विभाग (इमिग्रेसन)ले सेलाङ्गोरको क्लाङ सेन्ट्रलस्थित तीनतले पसल–भवनभित्र सञ्चालन हुँदै आएको विदेशी देहव्यापार (यौन) कार्यको केन्द्रमा छापा मारी नष्ट गरेको छ।
डिसेम्बर १, राति १०:२५ बजे सञ्चालन गरिएको अपरेसनमा २१ जनाको निरीक्षण गरिँदा १७ जना विदेशी नागरिकलाई पक्राउ गरिएको अध्यागमनले जनाएको छ। पक्राउ पर्नेहरूमा ८ जना बंगलादेशी पुरुष र ९ जना भियतनामी महिला, उमेर २१ देखि ३२ वर्ष सम्मका रहेका छन्। उनीहरूलाई इमिग्रेसन ऐन १९५९/६३ अनुसार म्यादभन्दा बढी बसाइ (overstay) तथा कानूनी कागजात नभएको अभियोगमा नियन्त्रणमा लिइएको हो।
छानबिन अनुसार, सो देहव्यापार केन्द्र सम्पत्ति व्यवस्थापन र आयात–निर्यात कम्पनीको आवरण पछाडि लुकेर सञ्चालन हुँदै आएको थियो। एक बङ्गलादेशी नागरिक ‘क्याप्टेन’को भूमिकामा बसेर ग्राहकबाट प्रति व्यक्ति आरएम ५०-८० सम्म सर्भिस चार्ज उठाउने र गतिविधि सञ्चालन गर्ने गरेको पाइएको छ।
यौनधन्दामा सक्रिय महिलाहरू दैनिक रुपमा देहब्यापारबाट आरएम ४०० देखी आरएम ६०० सम्म कमाइ गरिरहेको अनुमान छ। यस्तै, ‘केभिन’ नामले परिचित एक स्थानीय पुरुष यस कार्यमा संलग्न मुख्य योजनाकार भएको शंका गरिएको छ।

सबै नियन्त्रणमा परेकाहरूलाई थप अनुसन्धानका लागि पुत्राजाया इमिग्रेसन डिटेन्सन डिपोमा लगिएको छ। अध्यागमनले लामो समयसम्म अवैध रूपमा बस्ने, पास भिसाको दुरुपयोग गर्ने विदेशीसंगै (अनधिकृत विदेशी) अवैधानिक विदेशीलाई संरक्षण गर्ने स्थानीयहरूलाई पनि नछाडिने , कारवाही गरिने चेतावनी दिएको छ।
अध्यागमन विभागले पछिल्लो समय देशभर गरिरहेको यस्ता अवैध विदेशी र अनैतिक गतिविधिहरूविरुद्ध कडा कारबाही , छापामारी गरि पक्राउ परेकालाई जेल चलानको कार्य निरन्तर जारी रहने जनाएको छ।




















