एनपिएलमा जनकपुर बोल्ट्सको पहिलो जित,‘प्लेअफ’को झिनो आश।

काठमाडौं := दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल को) साविक विजेता जनकपुर बोल्ट्सले हारको श्रृङ्खला तोडेको छ। यसअघि लगातार चार खेलमा पराजय भोगको जनकपुरले आफ्नो पाँचौ खेलमा जित निकाल्ने क्रममा चितवन राइनोजमाथि मंगलबार ६ विकेटको जित निकालेको हो।

जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै अङ्कतालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो । यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा बढेको छ । बाँकी रहेका दुई खेलमा फराकिलो जित निकालेर मात्रै त्यो सम्भावना सम्भावना रहने नभई जनकपुरले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ ।

आजको जितमा अनिल शाह ‘म्याच विनर’ बने । ६१ रन हिर्काउनुका साथै एक विकेट पनि झारेका अनिल ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा शाहले ‘प्लेअफ’को सम्भावना बाँकी रहेको बताउनुभयो ।

“अझै दुई खेल बाँकी छन् । ती खेल जितेर प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छौँ । लगातारको हारले टोलीको मनोबल खस्किएको भए पनि आजको जितले आगामी खेलमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महसुस गरेको थिए । आज टिम ब्याक गर्दा रन पनि निस्किनु मेरो लागि खुसीको क्षण हो ।”

पाँचौँ खेलमा तेस्रो हारपछि चितवन राइनोजको ‘प्लेअफ’को बाटो साँघुरो बन्न थालेको छ । बाँकी दुई खेलमा उसले जित निकाल्नुपर्ने दबाब बढेको छ । आजको हारपछि चितवनका विदेशी खेलाडी डेबिड मालनले आगामी दुई खेल जित्दा ‘प्लेअफ’ पुग्ने सम्भावना रहेकाले जित निकाल्न मेहनत गरिने बताउनुभयो ।

चितवन प्लेइङ ११
कुशल मल्ल, रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौटेला, कमलसिंह ऐरी, सौगात ढकाल, डाविड मलान, रवि बोपारा, सैफ जैब, सोहइल तन्वीर

जनकपुर प्लेइङ ११
आशिफ शेख, अनिलकुमार साह, शुभ कंशाकार,  सचिन भट्ट, मयन यादव, आदित्य महता, रुपेश सिंह, वायन पार्नेल, माज सदाकत, जन निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्ती