चासोक तङ्नाम डिसेम्बर १३ तारिख क्वालालम्पुरमा र १४ तारिख जोहोरमा मनाइने।

क्वालालम्पुर (मलेसिया):= किरात याक्थुङ चुम्लुङ मलेसिया शाखाको आयोजनामा सदाको वर्षझै लिम्बु समुदायको महान पर्व चासोक तङ्नाम यस वर्ष पनि मलेसियामा भव्य रूपमा मनाउने  भएको छ।

यहीँ डिसेम्बर १३, शनिबार, क्वालालम्पुरस्थित नेपाली राजदूतावाससँगै रहेको भवनको सभाहलमा आयोजना हुने कार्यक्रममा नेपालबाट प्रमुख अतिथिका रूपमा जनता समाजवादी पार्टीकी प्रदेश १ की सभा सदस्य तथा पूर्वमन्त्री निर्मला तावा लिम्बू उपस्थितिमा चासोक तङ्नाम मनाउने तय भएको आयोजक संस्थाले जनाएको छ ।

मलेसियामा रहेका लिम्बु श्रमिक, समाजसेवी तथा युवाको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस कार्यक्रमले कला, संस्कृतिको जगेर्ना, भाषा, भेषभूषा र परम्परागत पहिचान प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ। लिम्बु समुदायले नयाँ अन्न-बाली भित्राउनु अघि कुलदेवता र प्रकृतिको पूजा गर्दै मनाउँदै आएको चासोक तङ्नाम परम्परागत रूपमा अत्यन्त महत्वपूर्ण पर्व मानिन्छ।

कार्यक्रमलाई आकर्षक बनाउन नेपालबाट चर्चित गायिका सम्झना योङ्हाङ लिम्बू र कलाकार/सञ्चारकर्मी टिआर सेनेहाङ विशेष प्रस्तुति लिएर आउने छन्। साथै मलेसियामा रहेका स्थानीय कलाकारहरूको पनि बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ।

कार्यक्रममा लिम्बु समुदायका परम्परागत नृत्य–संगीत, सांस्कृतिक झाँकी तथा लोपोन्मुख परिकारहरू समेत प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ। त्यसैगरि किरात याक्थुम चुम्लुङ् मलेसिया जोहोर शाखाद्वारा पनि चासोक तङ्नाम-२०२५ कार्यक्रम मनाउने तय भएको छ ।

जोहोर राज्यमा भने डिसेम्बर १४ तारिख आईतवारका दिन कार्यक्रम हुने तय भएको आयोजक संस्थाले जनाएको छ ।     कार्यक्रममा उपस्थितिको लागि मलेसियामा स्थापित नेपाली राजदूतावास संगै विभिन्न संघसंस्था र मिडियालगायत प्रतिनिधिहरुलाई निमन्त्रणा गरिसकिएको जनाएको छ ।