रास्वपा र विवेकशील साझाबीच एकता, पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो । आइतबार राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर पार्टी एकता पत्रमा हस्ताक्षर र घोषणासमेत भएको हो ।

हस्ताक्षर पत्रमा ‘रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार्दै निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने’ कुरा उल्लेख छ । साथै रास्वपाको राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति छ । मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्यसरह हुने सहमति भएको छ ।

विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने सहमति भएको हो । एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साबिककै नीलो पृष्ठभूमिको मध्यभागमा सेतो रातो रङको गोलाकार बीचमा नीलो रङको घण्टीको आकृति र दलको चिह्न ‘घण्टी’ रहने सहमति छ ।

एकीकरणसम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानुनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेज तयार गर्दै पार्टीका नाममा रहेका चल-अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने पनि सहमति भएको छ ।

रास्वपाले गत १२ मंसिरमा भर्चुअल बैठकमार्फत विवेकशील–साझासँगको एकीकरण प्रस्ताव अनुमोदन गर्दै ‘संघीय नेतृत्व मञ्च’ नामको नयाँ संरचना बनाउने निर्णय गरेको थियो । रास्वपामा आउने वैकल्पिक धारका नेताहरूलाई समेट्न यो मञ्च अस्थायी रूपमा आगामी महाधिवेशनसम्म मात्रै रहनेछ । रास्वपामा विधानअनुसार १२१ केन्द्रीय सदस्य रहने व्यवस्था भए पनि अहिले ५८ मात्र रहेका छन् ।

महाधिवेशनअघि नयाँ केन्द्रीय सदस्य थप्न उचित नठानेर संघीय नेतृत्व मञ्च बनाइएको प्रवक्ता मनीष झाले बताउनुभयो । यो मञ्चमा विवेकशील-साझाबाट आउने नेतासहित पार्टीभित्रैका योग्य नयाँ फेसहरू समेटिनेछन् । मञ्चका सदस्यलाई केन्द्रीय सदस्यकै बराबर राजनीतिक हैसियत हुनेछ । विवेकशील-साझाका प्रमुख नेताहरू- अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शनालाई मञ्चमा राख्ने तयारी गरिएको छ ।

अन्य नाम भने टुंगो लाग्न बाँकी छ । करिब ५१ सदस्य रहने यो समितिमा रास्वपाका हालका केन्द्रीय सदस्य सहभागी हुने छैनन् । संयोजक भने पार्टी पदाधिकारीमध्येबाट एक जनालाई दिइनेछ । विवेकशीलले कुनै ‘भाग’ मागेको छैन । निःसर्त एकता भएकाले अहिले नै जिम्मेवारी बाँडफाँडबारे सहमति गर्नेछैन भन्ने रास्वपा पक्षको भनाइ छ । साथै विवेकशीलका नेताहरूलाई तत्काल केन्द्रीय सदस्यमा मनोनयन पनि गरिने छैन ।

मलाई कुनै पद चाहिँदैन, वैकल्पिक अभियान मर्न दिँदैनौँ : बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आफूहरूको समाहित कुनै व्यक्तिगत स्वार्थका लागि नभएको स्पष्ट गर्दै आफूलाई कुनै पद-प्रतिष्ठा नचाहिने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभामा बोल्दै उहाँले दिवंगत युवा नेता उज्ज्वल थापाले सुरु गरेको वैकल्पिक राजनीतिलाई जोगाउन र अघि बढाउन आफूहरू रास्वपासँग एकताबद्ध भएको बताउनुभयो ।

बास्कोटाले भन्नुभयो, ‘धेरैले सोध्नुहुन्छ-रास्वपा जस्तो राष्ट्रिय पार्टीमा किन समाहित हुनुभयो ? के तपाईं उम्मेदवार बन्न चाहनुहुन्छ ? हामीले भनेका छौँ- हामीलाई केही चाहिएको छैन । पुरानो राजनीति जस्तै सुरक्षित हुने राजनीति गर्न आएका होइनौँ । उज्ज्वल थापाले रोपेको बीउ फक्रिनुपर्छ, संसद्मा गर्जिनुपर्छ । यही हाम्रो तपस्या हो ।’

रास्वपामा बिलाउन होइन, मिलाउन गएका हौँ : दर्शना

विवेकशील साझा पार्टीले बिलाउनलाई नभएर मिलाउनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको रञ्जु दर्शनाले बताउनुभएको छ । दुवै पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताउनभुएको हो । ‘सबैले रास्वपामा बिलायौँ भनिरहेका छन् । हामी बिलाउन होइन, मिलाउन गएका हौँ’, उहाँले भन्नुभयो । वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उहाँको भनाइ छ ।

अहिलेसम्म भएको टुटफुटबाट पाठ सिकेको बताउँदै उहाँले भन्नुभयो, ‘टुटेर होइन, जुटेर काम गर्नुपर्दो रहेछ ।’ अब आउने निर्वाचनबाट रास्वपालाई बहुमत दिलाउनुपर्ने उहाँको भनाइ छ। त्यसका लागि सबैलाई एकजुट भएर लाग्न आग्रह गर्दै दर्शनाले भन्नुभयो, ‘अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनैपर्छ, वैकल्पिक शक्तिले बहुमत ल्याउनैपर्छ ।’

समाचार स्रोत: नारायण अर्याल / हिमालय टाईम्स पत्रीका