ओमान := ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
बुधबार अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा कप्तान रोहित पौडेलले १६ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले २०-२० रन बनाए।

कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे। नेपाल अब शुक्रबार जापानविरुद्ध दोश्रो खेल खेल्नेछ। नौ टिम सहभागी प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टिमले भारत–श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपमा स्थान बनाउनेछन्।




















