पोखरा := पोखरा स्थित लिच्ची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नाउपाकीकी अध्यक्ष पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
मुद्दामा करिब ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको आयोगले जनाएको छ। गुप्ताले बिचौलियासँग घुस सम्बन्धी डिल गरेको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। सो अडियोमा एमालेका अर्का पूर्वमन्त्री बलराम अधिकारीको नाम पनि समावेश रहेको भए पनि अधिकारीको संलग्नता अझ स्पष्ट नभएकाले अनुसन्धान जारी रहेको र अनुसन्धान पूरा भएपछि पूरक अभियोग दायर गर्न सकिने अख्तियार स्रोतले जनाएको छ।
गुप्ता केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री रहनुभएको थियो भने श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री हुनुहुन्थ्यो ।अख्तियारले मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलियाको काम गर्ने घरजग्गा व्यवसायी सुजन लामा भन्ने सुजन कुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई पनि यस मुद्दामा प्रतिवादी बनाएको छ।
यस मुद्दामा पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ तथा बिचौलिया तामाङ, गुरुङ र बुढा मगरलाई ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ, भने मालपोत अधिकृत अधिकारीलाई ५३ लाख र खेम पुनलाई २५ लाख बिगो तोकिएको छ।




















