काठमाडौं := व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।
अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालत प्रशासनले एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै दरपीठ आदेश दिएको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।
हाल पार्टी कार्यालय रहेका ललितपुरको च्यासलमा असोज १० र ११ गते परेको अविरल वर्षाले क्षति पुर्याएपछि कीर्तिपुरमा गत दशैंको फुलपातीको दिन एमालेले पार्टी कार्यालयको शिल्यान्यास गरेको थियो ।




















