काठमाडौं := बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् ।
त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन्। यो जितपछि बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ । त्यस्तै समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने विहिबार लाग्ने छ । अन्तिम खेलमा नेपालले श्रीलंका र भुटानले मालदिभ्ससँग खेल्ने छ ।




















